विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीनवटा कक्षा, सुविधा भने शून्य 

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार १८:४९
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ खैरवनास्थित आनन्द आधारभूत विद्यालयमा पर्याप्त शिक्षक र भौतिक संरचना नहुँदा ईसीडीदेखि कक्षा ५ सम्मका विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरबाट करिब २० किलोमिटर पूर्वदक्षिण सीमा क्षेत्रमा रहेको विद्यालयमा कक्षा कोठादेखि शौचालय, खानेपानी र जनशक्तिसम्मको अभाव देखिएको हो । विद्यालयमा ईसीडी कक्षादेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, पर्याप्त कक्षा कोठा र शिक्षक नहुँदा फरक–फरक तहका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने अवस्था छ । विद्यालयमा रहेका चारवटा कोठामध्ये दुई वटा कोठामा नियमित पठनपाठन हुने गरेको छ ।

Advertisement

शिक्षकको संख्या कम भएका कारण कतिपय अवस्थामा दुईदेखि तीनवटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर अध्यापन गराउने गरिएको छ । यसरी एउटै कोठामा फरक कक्षाका विद्यार्थी राखेर पढाउँदा शिक्षकलाई अध्यापन गराउन कठिनाइ हुने गरेको छ भने विद्यार्थीको सिकाइ उपलब्धिमा समेत असर पर्ने अवस्था छ । एउटा कक्षा कोठाको अवस्था झन् खराब छ । पानी पर्दा कोठाभित्रै पानी पस्ने र भुइँमा पानी जम्ने गरेको विद्यालयले जनाएको छ । तुलनात्मक रूपमा केही राम्रो रहेको अर्को कोठालाई बढी प्रयोग गर्ने गरिएको छ ।

विद्यालयको शौचालयको अवस्था पनि दयनीय छ । शौचालयमा पानी जम्ने, फोहोर हुने र दुर्गन्ध फैलिने समस्या छ । पानी निकासको उचित व्यवस्था नहुँदा विशेषगरी वर्षायाममा समस्या थपिने गरेको छ । शौच गर्नुपर्ने अवस्थामा विद्यार्थी घर जानुपर्ने अथवा विद्यालय परिसरबाहिर खुला स्थानमा शौच गर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।

शौचालय अगाडिसमेत पानी र फोहोरको समस्या रहने गरेको छ । छात्रहरू त्यही दुर्गन्धित तथा फोहोर शौचालय अगाडि उभिएर शौच गर्ने गरेको र छात्राहरूलाई भने झनै समस्या हुने गरेको पाइएको छ । साना बालबालिकाले समेत त्यही असहज र दुर्गन्धित शौचालय प्रयोग गर्नुपर्ने अवस्था छ ।

विद्यालयमा स्वच्छ खानेपानीको समेत उचित प्रबन्ध छैन । विद्यार्थीले ट्युबवेल अर्थात् चापाकलको पानी प्रयोग गरेर पिउनुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ । शुद्ध खानेपानीको अभावले बालबालिकाको स्वास्थ्य तथा सरसफाइमा समेत समस्या देखिएको छ ।

विद्यालयमा कार्यालय सहयोगीको पनि अभाव छ । यसअघि कार्यरत कार्यालय सहयोगी अन्यत्र सरुवा भएर गएपछि विद्यालयको दैनिक व्यवस्थापनमा समेत समस्या भएको प्रधानाध्यापक सम्पतलाल मण्डलले बताए । उनका अनुसार पहिले विद्यालय व्यवस्थापन समिति रहँदा शिक्षक तथा कार्यालय सहयोगी राख्न सकिने अवस्था थियो । तर, अहिले व्यवस्थापन समितिसमेत नरहेको र भएका शिक्षक तथा कार्यालय सहयोगीमध्ये पनि केही अन्यत्र सरुवा भएपछि समस्या थपिएको हो ।

मण्डलका अनुसार पहिले विद्यालयमा ६ जना शिक्षकशिक्षिका कार्यरत थिए । अहिले प्रधानाध्यापकसहित तीन जना शिक्षकशिक्षिका मात्र छन् । तीमध्ये दुई जना राहत कोटाका र एक जना बाल विकासका शिक्षक छन् । ईसीडीदेखि कक्षा ५ सम्म ७० जना विद्यार्थी भर्ना भए पनि दैनिक औसत ४५ देखि ५० जना विद्यार्थी मात्र विद्यालय आउने गरेको उनले बताए ।

विद्यालयको भौतिक अवस्था र जनशक्तिको अभावका कारण आफूहरू पनि बाध्य भएर एउटै कोठामा फरक कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने अवस्थामा रहेको मण्डलले बताए । ‘हामी पनि बाध्यता भएर एउटै कक्षा कोठामा पढाउनु परेको छ । सम्बन्धित निकायलाई यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराए पनि सुनुवाइ हुनसकेको छैन,’ उनले भने, ‘शौचालयमा बर्खाको समय अलि समस्या हुने गरेको छ । पानी पर्दा यहाँको जमेको पानीको निकास नहुँदा धेरै समस्या भोग्नु परेको छ ।’

विद्यालयको पछाडिपट्टि व्यक्तिको घर रहेकाले पानी निकासमा समस्या भएको मण्डलले बताए । शौचालय आसपास जमेको पानी पाइपमार्फत बाहिर निकाल्ने प्रयास गरिए पनि निकास दिन सम्भव नभएको उनको भनाइ छ ।

‘विद्यार्थीका लागि स्वच्छ र शुद्ध पानीको अभाव नै छ । ट्युबवेल (चापाकल)को पानी खानु परेको छ । विद्यालयमा हामी शिक्षक थोरै छौं । त्यहीँ भएर सबैलाई एकै ठाउँमा राखेर पढाउनु पर्ने अवस्था सिर्जना भएको हो,’ उनले भने, ‘पहिले विद्यालय व्यवस्थापन समिति हुँदा शिक्षक राख्ने, कार्यालय सहयोगी राख्न सकिन्थ्यो । अहिले नहुँदा समस्या भयो । भएका शिक्षक र कार्यालय सहयोगी एक वर्षदेखि अन्यत्र विद्यालयमा सरुवा भएर गएपछि यहाँ समस्या आएको हो ।’

विद्यालयमा विद्यार्थीले खाजा खाएपछि प्रयोग गरेका भाँडावर्तन आफैँ माझ्नुपर्ने अवस्था रहेको विषयमा भने प्रधानाध्यापक मण्डलले त्यसलाई नियमित अभ्यास नभएको स्पष्ट पारे । उनका अनुसार लामो समयपछि विद्यालय खुलेका कारण फोहोर भएका दुई–चार वटा कचौरा विद्यार्थीले आफैँ माझ्न थालेका थिए ।

‘विद्यार्थीहरूलाई कहिले पनि भाँडा माझ्न लगाउँदैनौँ । तर, आज धेरै दिनपछि विद्यालय खुलेको भएर फोहोर भएका २/४ वटा कचौरा आफै माझ्न थालेकी हुन् । एक जना शिक्षिका बाहिर गएका कारण उनले आफैँ माझेकी होलिन् । हामीले माझ्न भनेका होइनौँ,’ मण्डलले भने ।

विद्यालयमा पर्याप्त शिक्षकको व्यवस्था, कक्षा कोठा र शौचालयको सुधार, स्वच्छ खानेपानीको प्रबन्ध तथा आवश्यक कर्मचारीको व्यवस्था गर्न सम्बन्धित निकायसँग विद्यालयले माग गर्दै आएको छ । तर, तीन तहका सरकारअन्तर्गत शिक्षा हेर्ने निकायबाट विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको सुधारमा पर्याप्त ध्यान नदिएको अभिभावकहरूको गुनासो छ ।

अभिभावकहरूले विद्यालयको अवस्था तत्काल सुधार नगरे बालबालिकाले विद्यालयबाट पाउनुपर्ने आधारभूत शैक्षिक सुविधा र शिक्षाको अधिकार नै प्रभावित हुने अवस्था रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
सर्वोच्चद्वारा प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयनमा रोक
विराट टिचिङ हस्पिटलमा राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन हुँदै 
विराट टिचिङ हस्पिटलमा राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन हुँदै 
 जेनजी आन्दोलनका घाइते बिर्तामोडमा आमरण अनशनमा
 जेनजी आन्दोलनका घाइते बिर्तामोडमा आमरण अनशनमा
कबाडीमा ठूलो खेल : अर्बौंको कारोबार, हराउँदै भ्याट
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीन वटा कक्षा, सुविधा भने शून्य 
विद्यालयमा सिकाइभन्दा व्यवस्थापनकै समस्या : एउटै कोठामा तीनवटा कक्षा, सुविधा भने शून्य 
सुरुङभित्र उद्धार अभियान तीव्र, १० शव भेटिँदा ३ जनाको जीवितै उद्धार
आमालाई ६ महिना प्रसूति र बुवालाई ४२ दिनसम्म स्याहार बिदा दिने तयारी
मन्त्रिपरिषद्का ६ निर्णयः डिजिटल शासनदेखि सचिव बढुवासम्म
अख्तियारका कर्मचारीद्वारा बाढीपीडितका लागि ६१ लाख
कांग्रेसको १५औँ महाधिवेशनमा ६ हजार ५२८ प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×