प्रशासनको प्रतिबन्धलाई चुनौती : विराटनगरमा खुलेआम घन्किँदै डिजे

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २, शुक्रबार १६:५८

विराटनगर । विश्वकर्मा बाबाको मूर्ति सेलाउने क्रममा शुक्रबार विराटनगरका विभिन्न स्थानमा चर्को आवाजमा डिजे बजाइयो । स्थानीय प्रशासनले डिजे प्रयोगमा प्रतिबन्ध लगाए पनि त्यसको बेवास्ता गर्दै ठाउँ–ठाउँमा डिजे बजाइएपछि प्रशासनको निर्णय कार्यान्वयनमाथि प्रश्न उठेको छ ।

मूर्ति सेलाउने क्रममा डिजेसहितको समूह सडकमा निस्किँदा चर्को आवाजले आसपासको क्षेत्रसमेत प्रभावित बनेको थियो । सार्वजनिक स्थानमा ठूलो आवाजमा डिजे बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै बालबालिका, वृद्धवृद्धा, बिरामी तथा दीर्घरोगीलाई प्रत्यक्ष असर परेको भन्दै यसको विरोध हुँदै आएको छ । तर, प्रशासनको प्रतिबन्धका बाबजुद विभिन्न अवसरमा डिजे बजाउने क्रम रोकिएको छैन । प्रशासनको प्रतिबन्धलाई चुनौती दिँदै विराटनगरमा खुलेआम डिजे घन्किरहेका छन् ।

Advertisement

जिल्ला प्रशासन कार्यालय मोरङले साउन १२ गतेदेखि जिल्लाभर डिजेको प्रयोगमा प्रतिबन्ध लगाएको थियो । प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा मेला, महोत्सव, विवाह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत सार्वजनिक तथा निजी कुनै पनि कार्यक्रममा डिजे प्रयोग गर्न वा गराउन नपाइने उल्लेख छ । प्रशासनले ध्वनि प्रदूषण नियन्त्रण, सार्वजनिक शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले डिजेमा प्रतिबन्ध लगाइएको जनाएको थियो ।

प्रशासनले सूचनाको उल्लंघन गरी डिजे प्रयोग गरेको वा गराएको पाइए प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको थियो । तर, प्रतिबन्ध घोषणा भएको लामो समयपछि पनि विराटनगरमा खुलेआम डिजे बजाइनुले निर्णय कार्यान्वयनमा प्रशासन कमजोर देखिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले तोकिएको सीमाभन्दा बढी आवाज निकालेर डिजे बजाउन नपाइने बताए । ‘५५ डेसिबलभन्दा बढीको आवाज निस्कने गरी डिजे बजाउन पाइँदैन । त्यस्तो कसैले गरेको रहेछ भने कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने । कोइरालाले कोही कसैले प्रतिबन्धविपरीत डिजे बजाएको पाइए प्रशासनमा जानकारी गराउन आग्रह गरेका छन् ।

नेपालको वातावरण संरक्षणसम्बन्धी कानुनले पनि जनजीवन र जनस्वास्थ्यमा खतरा पुग्ने वा तोकिएको मापदण्डविपरीत ध्वनि प्रदूषण गर्न नहुने व्यवस्था गरेको छ । ध्वनि प्रदूषणबाट जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गर्न सरकारले निर्धारण गरेको मापदण्ड पालना गर्नु नागरिक, व्यवसायी, संघसंस्था तथा सम्बन्धित निकायको दायित्व हुने व्यवस्था जनस्वास्थ्य सेवा ऐनमा समेत छ ।

डिजेको चर्को आवाज मनोरञ्जनको विषय मात्र नभई सार्वजनिक स्वास्थ्य र सामाजिक शान्तिसँग समेत जोडिएको विषय हो । विशेषगरी रातको समयमा ठूलो आवाजमा डिजे बजाउँदा निद्रा प्रभावित हुने, तनाव बढ्ने तथा बालबालिका, वृद्धवृद्धा र बिरामीलाई थप समस्या हुने भन्दै स्थानीयस्तरमा यसको नियन्त्रणको माग हुँदै आएको छ ।

डिजेको आवाजकै विषयले गम्भीर विवादको रूप लिएको पछिल्लो उदाहरण सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज हो । साउनमा बोलबम यात्राका क्रममा डिजे बजाएको विषयमा दुई समुदायबीच विवाद बढ्दै गएपछि झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर साउन १० गते राति ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने पछि घाइतेमध्ये थप दुई जनाको मृत्यु भयो । घटनापछि साम्प्रदायिक तवना बढेको थियो ।

कप्तानगन्ज घटनापछि सार्वजनिक स्थानमा अनुमति नलिई डिजे तथा माइक बजाउने विषयलाई थप संवेदनशील रूपमा हेरिएको छ । धार्मिक तथा सांस्कृतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण बढाउने र त्यसबाट विवाद सिर्जना हुने अवस्थाप्रति प्रशासन तथा स्थानीय तहले समेत सावधानी अपनाउनुपर्ने सुझाव सरोकारवालाले दिइरहेका छन् ।

तर, मोरङमै प्रशासनले डिजेमा पूर्ण प्रतिबन्ध लगाएको अवस्थामा समेत शुक्रबार विराटनगरमा सार्वजनिक रूपमा डिजे घन्किनुले प्रतिबन्ध घोषणामात्र पर्याप्त नभएको देखाएको छ । प्रतिबन्ध उल्लंघन गर्नेमाथि कारबाही नहुने हो भने प्रशासनको सूचना कागजमै सीमित हुने र त्यसले आगामी दिनमा पनि उल्लंघनलाई प्रोत्साहन गर्न सक्ने जोखिम बढेको स्थानीय बताउँछन् ।

स्थानीय प्रशासनले ध्वनि प्रदूषण नियन्त्रणका लागि जारी गरेको निर्णय व्यवहारमै कार्यान्वयन गर्नुपर्ने स्थानीयको माग छ । मनोरञ्जन, धार्मिक वा सांस्कृतिक कार्यक्रमको नाममा अरूको स्वास्थ्य, शान्ति र सार्वजनिक सुव्यवस्थामा असर पर्ने गरी चर्को आवाजमा डिजे बजाउने प्रवृत्तिलाई नियन्त्रण गर्न प्रभावकारी अनुगमन र कानुनी कारबाही आवश्यक देखिएको सरोकारवाला बताउँछन् ।

कप्तानगन्ज घटनाको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध

तपाइको प्रतिक्रिया
कार्कीको कटाक्ष– ‘लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामना’
अदालत भित्रैबाट बिचौलिया पक्राउ
मोरङमा ९६ किलो गाँजासहित पक्राउ परेकाहरू धरौटीमा छुटे, अनुसन्धान र अभियोजनमा गम्भीर प्रश्न
विवाद समाधान गरी एकताको महाधिवेशन गर्न माग
प्रशासनको प्रतिबन्धलाई चुनौती : विराटनगरमा खुलेआम घन्किँदै डिजे
१३ देशका लागि राजदूत सिफारिस
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने
विदेशी चलखेलका कारण मुलुक संकटमाः नेपाल
मौलिक हक कार्यान्वयनका बाँकी कानुन निर्माणलाई प्राथमिकता दिएका छौँ : मन्त्री गौतम
सरकारविरुद्ध आन्दोलनको तयारीमा छौँ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×