बस आगजनीबारे छानबिन गर्न समिति गठन

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार १८:३७

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा चालकले मिनिबसभित्रै आगजनी गरेको घटनाको छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई जिम्मेवारी दिइएको कार्यालयका प्रवक्ता डीआइजी गोविन्द थपलियाले जानकारी दिए ।

आज (सोमबार) दिउँसो १२ः१५ बजे राहदानी विभागअगाडिको बसपकेटमा रोकिएको रिद्धिसिद्ध यातायातको बा।५ ख ४२७४ नम्बरको मिनिबसमा चालक दावा लामाले आगो लगाएका थिए । आगजनीबाट पनौती, काभ्रेका २५ वर्षीय लामाको शरीरको करिब ९५ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रारम्भिक अनुसन्धानमा ट्राफिक प्रहरीसँग विवाद भएपछि लामाले आफूसहित बसमा आगजनी गरेको खुलेको छ । अनावश्यक हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले कागजात मागेर कारबाही गर्न खोजेपछि लामाले आफूले गल्ती नगरेको भन्दै विवाद गरेका थिए ।

कागजात दिन अस्वीकार गरेपछि ट्राफिक तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मीले उनलाई सम्झाउने प्रयास गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा लामाले त्रिपुरेश्वर चोकमा बस तेर्स्याएर सडक अवरुद्ध गरेको र सुरक्षाकर्मीले सम्झाइरहेको देखिन्छ । घटनाको विस्तृत कारणबारे छानबिन समितिले अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×