एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ६, मंगलबार १०:०४
 एसियाडमा सहभागी हुने जुडो टोलीलाई पामको बिदाइ

काठमाडौं । एकपछि अर्को सफल जुडो खेलाडी उत्पादन गर्दै आएको बन्दी सहायता नियोग (पाम) ले २० औँ एसियाली खेलकुदमा सहभागी हुने आफ्ना खेलाडीसहित जुडो टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

जापानको आइची / नागोयामा असोज ३ गतेदेखि सुरु भएको एसियाडमा जुडोबाट समान ३–३ पुरुष / महिला खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् ।  जुडो भने असोज १४ गतेदेखि सुरु हुनेछ । टोली असोज १० गते जापान जाने तालिका छ ।

Advertisement

पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि सुजन गुरुङले प्रतिस्पर्धा गर्ने छन् । महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ४८ केजीमुनि निशा श्रेष्ठ र ७० केजीमुनि पुनम श्रेष्ठ सहभागी हुने छन् ।
देवकी र विकासको दोस्रो एसियाड सहभागिता हो । बाँकीले पहिलोपटक एसियाड खेल्न लागेका हुन् । देवकी र निशा दिदीबहिनी तथा विकास र विशेष दाजुभाइ हुन् । प्रशिक्षकमा सुनिता मगर ताम्राकार छिन् । एसियाडमै सहभागी हुन आइटी एक्सपर्ट सुप्रसिद्ध ताम्राकार पनि जापान जाने छन् ।

देवकी र निशा पामकै उत्पादन हुन् । यसपटक बहिनीसँग एसियाडमा सहभागी हुन लागेकी देवकीले चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदमा दाइ इन्द्रबहादुर श्रेष्ठसँगै सहभागी भएकी थिइन् । इन्द्रसहित ओलम्पियन मनीता श्रेष्ठ प्रधान पनि पामकै उत्पादन हुन् ।

पामबाट सफल जुडो खेलाडी उत्पादनमा गर्नमा पामकै कार्यकारी निर्देशक समेत रहेका प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठको महत्त्वपूर्ण योगदान छ । सूर्यनारायण श्रेष्ठले पनि १९९० मा चीनको बेइजिङमा भएको एसियाडमा प्रतिस्पर्धा गरेका थिए ।

टोलीलाई पामका कार्यवाहक अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, ओलम्पियन ऋषिराम प्रधान र देबु थापा, जुडोका प्रमुख प्रशिक्षक वीरेन्द्र रन्जितलगायतले बिदाइ गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×