
विराटनगर । नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी सर्वसम्मत चयन भएका छन् । सभापतिका दुई आकांक्षीबीचको प्रतिस्पर्धा अन्तिम समयमा सहमतिमा टुंगिएपछि केसीलाई सर्वसम्मत सभापति बनाइएको हो ।
सभापतिका लागि केसी र बालकृष्ण विष्टले उम्मेदवारी दिएका थिए । बुधबार दिनभर दुवैबीच सहमति जुटाउने प्रयास भए पनि निष्कर्षमा पुग्न नसकेपछि बिहीबार निर्वाचन गर्ने तयारी गरिएको थियो ।
तर, बिहीबार बिहानदेखि नेतृत्व तहले दुवै उम्मेदवारलाई सहभागी गराएर पटकपटक छलफल गरेपछि सहमतिको वातावरण बनेको नेतृत्व चयन समितिका सदस्य रमेश पोखरेलले बताए । सहमति अनुसार केसीले सभापतिको जिम्मेवारी सम्हाल्ने र विष्टलाई आगामी दिनमा जिल्ला तहको पदाधिकारी तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढाउने समझदारी भएको बताइएको छ । यही सहमतिपछि विष्टले सभापतिको दाबी छाडेका हुन् ।
केसी यसअघि कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा इटहरी सभापति पदमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । अहिले भने उनी तेस्रोपटक सभापतिको दौडमा उत्रिएका थिए ।
विष्ट भने १४औँ महाधिवेशनमा केसीकै समूहबाट इटहरी नगर उपसभापति पदमा प्रतिस्पर्धा गरी विजयी भएका थिए । यसपटक उनी केसीकै विरुद्ध सभापति पदमा उम्मेदवार बनेका थिए ।
निर्वाचनको पूर्वसन्ध्यामा भएको सहमतिले दुवै पक्षलाई समेट्दै नेतृत्व चयनको बाटो खोलेको कांग्रेस नेताहरूले बताएका छन् । सहमतिसँगै इटहरी नगर कांग्रेसको सभापति चयनका लागि हुने भनिएको निर्वाचनसमेत टरेको छ । अन्य पदाधिकारीमा पनि सहमतिको प्रयास भइरहेको छ ।

























