एमालेमा विद्यादेवी भण्डारी वरिष्ठ नेता बन्दै

Share this
623shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ८, बिहीबार १६:०८

काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव अघि बढाएको हो। अब केन्द्रीय कमिटीले उक्त प्रस्ताव अनुमोदन गर्नेछ।

पूर्वराष्ट्रपति भण्डारी यसअघि एमालेकी उपाध्यक्षसमेत भइसकेकी छन्। राष्ट्रपति पदबाट बाहिरिएपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किन चाहेपनि पार्टी सदस्यताको विषयमा विवाद भएको थियो। एमालेले यसअघि राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालेको व्यक्ति दलगत राजनीतिमा सक्रिय हुन नहुने भन्दै उनको सदस्यता नवीकरण रोकेको थियो। पछि एमालेले भण्डारीको सदस्यता कायम गर्ने निर्णय गरेपछि उनलाई पार्टी राजनीतिमा फर्किने बाटो खुलेको थियो।

Advertisement

भण्डारीले पार्टीको नेतृत्वमा सक्रिय हुने चाहना राख्दै आएकी थिइन्। यसबीच एमालेभित्र नेतृत्व पुनर्गठन र पार्टीको आगामी दिशाबारे बहस चलिरहेका बेला उनलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको हो। पछिल्लो समय एमालेको केन्द्रीय कमिटी बैठकमा पनि निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा छलफल भइरहेको छ।

भण्डारी एमालेको छैटौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। आठौँ राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकी उनी नवौँ महाधिवेशनबाट पनि उपाध्यक्ष तथा स्थायी कमिटी सदस्य बनेकी थिइन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×