भोटेकोशी बाढीको एक महिना : पुनर्निर्माणको चुनौती

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १०, शनिबार ०९:४८

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीको एक महिना पुगेको छ। बाढीले रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट हालसम्म एक हजार ४५३ जनाको मृत्यु भएको छ भने पाँच हजार ५५० जना अझै बेपत्ता छन्। १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका कतिपय प्रभावित अझै आश्रयस्थलमा छन्।

बाढी प्रभावितको खोज तथा उद्धार, राहत र अन्य सेवामा तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन्। द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) अनुसार बाढीबाट चार खर्ब आठ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको छ। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ।

बाढीबाट सात हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। त्यस्तै, ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य आयोजना प्रभावित भएका छन्। ६९ किलोमिटर सडक क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ वटा बगेका छन्। ६८ वटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ।

बाढीबाट करिब सात हजार ५७० घर प्रभावित हुँदा आठ हजार ३०० घरपरिवार र करिब ४० हजार जनसंख्या प्रभावित भएको आकलन छ। उत्पादन क्षेत्रतर्फ एक हजार ८०६ हेक्टर कृषि बालीमा क्षति पुगेको छ भने पशुपालन, पंक्षीपालन र माछापालनमा पनि असर परेको छ। १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्।

क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण र प्रभावितको खोज, उद्धार तथा राहत वितरणको काम जारी छ। बाढी गएको लगत्तै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि स्वयंसेवक परिचालन गरेको थियो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले आपत्कालीन सहयोग कोष (ड्रिफ)मार्फत तत्काल प्रतिकार्यका लागि १२ लाख अमेरिकी डलर परिचालन गर्न स्वीकृति दिएको थियो।

नेपाल रेडक्रसका अनुसार उक्त सहयोगबाट खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, म्याट्रेस, प्राथमिक उपचार सामग्री, स्ट्रेचर, शव व्यवस्थापनका लागि डेथ बडी–ब्याग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श, आपत्कालीन स्वास्थ्य सेवा र सरसफाइ किटलगायतका सामग्री प्रभावित क्षेत्रमा छिटो पुर्‍याउन सम्भव भएको थियो।

आइएफआरसीका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले आपत्कालीन कोष समयमै परिचालन हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली छिटो पुग्न सकेको बताए। उनका अनुसार यसले अकाल मृत्यु, रोग तथा थप मानवीय पीडा घटाउन र संकटका बेला ‘राज्य र रेडक्रस उपस्थित छन्’ भन्ने अनुभूति दिलाउन सहयोग गरेको छ।

चापागाईँले भोटेकोशी बाढीमा ‘फ्ल्यास फ्लड’को प्रकृतिअनुसार स्रोत परिचालन पनि तीव्र भएको उल्लेख गर्दै यसलाई ‘जलवायु संवेदनशील मानवीय प्रतिकार्य’को एउटा महत्वपूर्ण मोडेल बन्न सक्ने बताए। नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार सुरुआती चरणमा खोज तथा उद्धारमा केन्द्रित प्रतिकार्य अहिले आवास तथा गैरखाद्य सामग्री, खाद्य सहायता, खानेपानी तथा सरसफाइ, स्वास्थ्य, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, परिवार पुनर्मिलन, नगद तथा भौचर सहायता लगायतका क्षेत्रमा विस्तार भएको छ।

नेपाल रेडक्रसका अनुसार हालसम्म आवास तथा गैरखाद्य सामग्रीका एक हजार २१८ सेट, ५६३ त्रिपाल, ७०१ म्याट्रेस र एक हजार ३२४ कम्बल वितरण गरिएको छ। करिब दुई हजार प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ। एक महिनामा दुई हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याइएको छ। १८ वटा पानी ट्याङ्की व्यवस्थापन गरिएको र आवश्यक स्थानमा ट्याङ्करबाट पानी वितरण गरिएको रेडक्रसले जनाएको छ।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगबाट एक हजार ७१० जना लाभान्वित भएका छन् भने रेडक्रसका आपत्कालीन स्वास्थ्य क्लिनिकबाट एक हजार २३९ जनाले स्वास्थ्य परीक्षण, औषधि तथा अन्य सेवा पाएका छन्। परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनासम्बन्धी दुई हजार २९१ केसमा सेवा तथा सहजीकरण गरिएको छ। नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई शव व्यवस्थापनका लागि दुई हजार वटा डेथ बडी–ब्याग उपलब्ध गराइएको छ।

बहुउद्देश्यीय नगद तथा भौचर सहायता अन्तर्गत धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई नगद सहयोग गरिएको छ। समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव संकलन गरी आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा दिइएको रेडक्रसले जनाएको छ। संरक्षण, लैङ्गिक तथा समावेशीकरणतर्फ ५८७ मर्यादा किट र एक हजार ८७ स्वच्छता किट वितरण गरिएको छ। बालमैत्री सुरक्षित स्थानमार्फत एक हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराइएको छ।

प्रभावित समुदायलाई सूचना तथा सहयोग उपलब्ध गराउन १७ स्थानमा सहायता तथा सूचना कक्ष सञ्चालन गरिएको छ। बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षाको पूर्वसूचना, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, स्वास्थ्य, परिवार पुनर्मिलन, राहतमा पहुँच तथा नगद सहायता लगायतका विषयमा सूचना सामग्री तयार गरी सामाजिक सञ्जाल र रेडियोमार्फत प्रचार गरिएको रेडक्रसले जनाएको छ।

रेडक्रसले विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने जनाएको छ। प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना पनि रेडक्रसले अघि सारेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×