हर्क साम्पाङको सम्पत्तिमा जेठी पत्नीको हिस्सा, अदालतद्वारा पाँच अंशियार कायम

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ११, आइतबार १२:४८

विराटनगर । प्रतिनिधिसभा सदस्य एवं धरान उपमहानगरपालिकाका तत्कालीन मेयर हर्कराज राई (हर्क साम्पाङ)को नाममा रहेको सम्पत्तिमा उनकी जेठी पत्नी दिलमाया राईको पनि अंश लाग्ने भएको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङको सम्पत्तिमा जेठी पत्नीको पनि हिस्सा कायम भएको हो । सुनसरी जिल्ला अदालतले हर्कराजसहित पाँच जनालाई अंशियार कायम गर्दै हर्कराजको हिस्साबाट दिलमायालाई अंश दिनुपर्ने फैसला गरेको छ । न्यायाधीश मणिराम न्यौपानेको इजलासले गरेको फैसलामा वादी–प्रतिवादीबीच यसअघि कानुनबमोजिम अंशबन्डा भएको प्रमाण नदेखिएको उल्लेख छ ।

Advertisement

दिलमायाले २०७३ असोज ६ गते हर्कराजविरुद्ध अंश मुद्दा दायर गरेकी थिइन् । उनले २०५४ पुस ८ गते हर्कराजसँग प्रेम विवाह भएको र उनीहरूबाट छोरी एलिसा राई जन्मिएको अदालतलाई बताएकी थिइन् । वैवाहिक सम्बन्धका क्रममा आफूलाई पटकपटक कुटपिट गरिएको र घरबाट निकालिएको दाबी गर्दै उनले सम्पत्तिमा आफ्नो कानुनी हिस्सा माग गरेकी थिइन् ।

दिलमायाले आफ्नो फिरादमा हर्कराजसँग लामो समयदेखि विवाद हुँदै आएको र आफू विदेशबाट फर्किएपछि समेत पारिवारिक विवाद तथा कुटपिट नरोकिएको उल्लेख गरेकी थिइन् । उनका अनुसार प्रहरीमा समेत पटकपटक उजुरी परेको थियो । अन्ततः हर्कराजले घरमा बस्न र खानलाउन नदिएको भन्दै आफूलाई घरबाट निकालिएको उनको दाबी थियो ।

अदालतले भने अंशको विषयमा दिलमायाले माग गरेअनुसार मात्र सम्पत्ति विभाजन नगरी नाता, पुस्तावली र मुद्दामा पेस भएका प्रमाणका आधारमा अंशियारको संख्या निर्धारण गरेको छ । फैसलाअनुसार हर्कराज राई, उनका दाजुहरू आशयकुमार राई र एकराज राई, आमा जसामाया राईसहित पाँच जना अंशियार कायम भएका छन् । उनीहरूबीच यसअघि विधिवत् अंशबन्डा भएको प्रमाण पेस हुन नसकेको ठहर अदालतको छ ।

अदालतले प्रतिवादीतर्फबाट पेस गरिएको तायदाती फाँटवारीसमेत अध्ययन गरेको थियो । प्रतिवादीहरूको नाममा दर्ता भएका सम्पत्तिमा अंशियारहरूको हक लाग्ने देखिएको अदालतको निष्कर्ष छ ।

मुद्दाका क्रममा आशयकुमार राईको नाममा रहेका कित्ता नम्बर ३९५, ९२५ र ९२९ का जग्गा ब्रिटिस सेनामा काम गरेर कमाएको रकमबाट खरिद गरिएको र ती निजी आर्जनका सम्पत्ति भएकाले अंशमा समावेश गर्न नहुने दाबी गरिएको थियो । तर, त्यसको पुष्टि हुने पर्याप्त प्रमाण पेस नभएको भन्दै अदालतले सबै सम्पत्तिलाई पनि अंशबन्डाबाट अलग गर्ने आधार नरहेको ठहर गरेको छ ।

दिलमायाले आफूलाई घरबाट निकालिएको र खानलाउन नदिएको दाबी गरेको विषयमा पनि अदालतले प्रतिवादीको जवाफलाई परीक्षण गरेको थियो । हर्कराजले दिलमायालाई खानलाउन दिइरहेको भए उनी पति समेतलाई विपक्षी बनाएर अंश मुद्दा लिएर अदालत आउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने प्रश्नको विश्वसनीय खण्डन हुन नसकेको फैसलामा उल्लेख छ ।

अदालतले अन्ततः अंश लाग्ने सम्पत्तिलाई पाँच भागमा विभाजन गर्ने आधार तय गरेको छ । त्यसबाट हर्कराजको भागमा पर्ने एक हिस्सालाई पुनः हर्कराज, दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाउनुपर्ने ठहर गरिएको छ ।

यसअनुसार समग्र अंश लाग्ने सम्पत्तिमा दिलमायाको हिस्सा १–१५ कायम हुन्छ । अर्थात् पाँच अंशियारमध्ये हर्कराजको हिस्सा १–५ भएपछि त्यही हिस्सालाई हर्कराज, दिलमाया र एलिसाबीच बराबर बाँड्दा दिलमायाले १–१५ हिस्सा पाउनेछिन् ।

अदालतले दर्ता स्रेस्तामा कायम अंश लाग्ने सम्पत्ति पाँच भाग लगाई त्यसअनुसार अंश छुट्याउन तथा हर्कराजको हिस्साबाट दिलमायाको अंश कायम गर्नुपर्ने फैसला सुनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×