
काठमाडौं । केही दिनयता जारी भारी वर्षा, बाढी, पहिरो र डुबानका कारण देशभरको जनजीवन प्रभावित भइरहेका बेला सरकारले जोखिम अझै कायम रहेको जनाएको छ। सडक, पुल र विद्युत् आयोजनादेखि कृषि क्षेत्रमा समेत क्षति पुगेपछि सरकारले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत असोज ८ गतेदेखि हालसम्म देशभर बाढी, पहिरो, हावाहुरी, डुबान र चट्याङका ४३९ वटा मनसुनजन्य घटना भएको जानकारी दिएका छन्। उनका अनुसार यी घटनामा परी २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन्। पाँच जना घाइते भएका छन्।
प्रधानमन्त्री शाहका अनुसार बाढी र पहिरोले काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएका छन्। कतिपय सडकमा पहिरो जाने र सडक भासिने समस्या देखिएको छ।
भोटेकोशी–त्रिशूली नदी तटीय क्षेत्रका सडकमा पुनः क्षति पुगेको तथा कालीगण्डकीको पक्की पुलसमेत बगेको उनले बताएका छन्। क्षतिग्रस्त सडक तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन सरकार सक्रिय रहेको उनको भनाइ छ।
नारायणी नदीमा बाढीले क्रुजसिप बगाएर पुलमा अड्किएपछि सावधानीका लागि पूर्व–पश्चिम राजमार्गसमेत बन्द गरिएको छ। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन पनि प्रभावित भएको छ।
बाढीको असर विद्युत् क्षेत्रमा समेत परेको छ। प्रधानमन्त्रीका अनुसार कालीगण्डकी करिडोर, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायत क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३ दशमलव २ मेगावाट विद्युत् आपूर्ति बन्द भएको छ।
त्यसमध्ये ३१८ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रसारण लाइनका टावर ढलेका कारण पूर्ण रूपमा बन्द भएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राखेर थप ६९५ दशमलव २ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादनसमेत सुरक्षात्मक उपायस्वरूप बन्द गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
विद्युत् आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको उनले जानकारी दिएका छन्।
विपद्का कारण गाउँ मात्र नभई सहरका बस्तीसमेत डुबानमा परेको र सडक, पुल, जलविद्युत् आयोजना तथा खानेपानी प्रणालीलगायत दैनिक जीवनसँग जोडिएका पूर्वाधारमा क्षति पुगेको प्रधानमन्त्री शाहले बताएका छन्। हुरीसहितको वर्षाले धान, तरकारीलगायत कृषि बालीमा पनि ठूलो क्षति पुर्याएको उनले उल्लेख गरेका छन्।
सरकारले सम्भावित विपद्लाई ध्यानमा राखेर ७७ वटै जिल्ला कमान्ड पोस्ट सक्रिय बनाएको जनाएको छ। बाढीमा फसेका नागरिक तथा पशुचौपायाको उद्धार, बेपत्ताको खोजी र प्रभावित परिवारका लागि अस्थायी बसोबासको व्यवस्थामा सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार असोज ८ गतेदेखि विभिन्न जिल्लामा भएको विपद्मा परी म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको छ। मनाङमा हिमपहिरोमा परी मानिस बेपत्ता भएको सूचना प्राप्त भएको र त्यसबारे विवरण संकलन भइरहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले नदी तटीय तथा पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरेका छन्। संकटमा परे निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न पनि उनले अनुरोध गरेका छन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको पुनःस्थापनाको काम भइरहेकै अवस्थामा पुनः अर्को विपद्को सामना गर्नुपरेको भन्दै प्रधानमन्त्री शाहले सरकार नागरिकको जीवनरक्षा र उद्धारमा केन्द्रित रहेको बताएका छन्।

























