
बागलुङ । लगातारको वर्षापछि खसेको पहिरोले बागलुङमा ठूलो जनधनको क्षति पुर्याएको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोमा परेर दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।
आइतबार मात्रै तमानखोला र निसीखोला गाउँपालिकामा नौ जनाले ज्यान गुमाएका छन् । तमानखोलामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । निसीखोलामा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । यसअघि शनिबार ताराखोला गाउँपालिकामा पहिरोमा परी एक जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठवटा घरसमेत बगाएको छ ।
तमानखोला–४ सन्तरमा घरमाथि पहिरो खस्दा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती भने पहिरोमा परी बेपत्ता भएकी छन् ।
निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एउटै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक रहेका छन् ।
निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार मानवीय क्षति रोक्न पूर्वसूचना जारी गरिएको थियो । पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा निकायको टोली परिचालन गरिएको उनले बताए ।
यता, लगातारको वर्षापछि आएको बाढी र पहिरोले तनहुँमा पनि घर तथा अन्य संरचनामा क्षति पुर्याएको छ । जिल्लाका छ स्थानीय तहमा गरी २४ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्दे गाउँपालिकामा दुई, घिरिङ गाउँपालिकामा छ, ऋषिङ गाउँपालिकामा दुई, बन्दीपुर गाउँपालिकामा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ । क्षति पुगेका घरमा रहेका परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । अन्य क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
व्यास नगरपालिका–१ स्थित राइस मिलमा पहिरोका कारण क्षति पुगेपछि एक सय बोरा धान भिजेको छ । भिमाद नगरपालिका–६ मालेबगरमा रहेको कुखुराफार्म र बङ्गुरको खोरसमेत बाढी तथा पहिरोले बगाएको प्रहरीले जनाएको छ ।
यसैबीच तनहुँको देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा पनि कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको छ । बाढीले गुफा आसपासको शौचालय, बाथरुम, स्टोरमा राखिएका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री बगाएको छ ।
ठूलो ढुंगामा कुँदिएको १०८ शिवलिंगसहितको ओमकार मूर्तिमा समेत बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले सीता गुफामा पूजा गर्दै आएका ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारेको छ ।

























