बाढीपहिरोले अवरुद्ध राजमार्गहरू खुलाउने प्रयास तीव्र

Share this
748shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार ११:०४

काठमाडौं। चार दिनको अविरल वर्षाका कारण भएका बाढी–पहिरो र सडक भासिने घटनासँगै देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, चितवन, मनाङ, बागलुङ, रोल्पा, कालिकोट, गुल्मी, म्याग्दी, मुस्ताङ, हुम्ला, नवलपरासी पूर्व, पाल्पा, ललितपुर, लमजुङ, तनहुँ र पर्वतलगायत जिल्लाका सडक प्रभावित भएका छन्।

रसुवाको पासाङ ल्हामु राजमार्ग बाढीले त्रिशूली नदी किनारको अधिकांश भाग कटान गरेपछि पूर्णरूपमा अवरुद्ध छ। यद्यपि, काठमाडौंबाट टोखा–छहरे–विदुर–नुवाकोट, दरबार–फलाँटे–चोकदे–लच्याङ, सरमथली–पाच्र्याङ, भोर्ले–जिरो–किमि कालिकास्थान–स्याउबारी, राम्चे–सोले–धुञ्चे हुँदै स्याफ्रुबेंसी पुग्ने एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

Advertisement

नुवाकोटको टोखा–छहरे सडक खण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवा बाहेक सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको छ। उक्त व्यवस्था अर्को सूचना जारी नभएसम्म लागू रहनेछ। पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। कृष्णभीर क्षेत्रमा ठूलो ढुङ्गासहितको पहिरो झरेपछि सडक एकतर्फी सञ्चालनमा आएको तथा बेनिघाट रोराङ–१० स्थित पानीधारामा पनि पहिरोकै कारण सडक पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

चितवनस्थित नारायणगढ–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो गएपछि अर्को सूचना नभएसम्म सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ। अर्कोतर्फ बिपी राजमार्गअन्तर्गत काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसी र रोशी–८ गिम्दीबेंसीमा पहिरो गएपछि सडक अवरुद्ध छ। प्रहरीका अनुसार, धुलिखेल नगरपालिका–८ पकुचामा पहिरो खसेपछि अरनिको राजमार्ग अवरुद्ध छ। गण्डकी प्रदेशमा मनाङको बेंसीसहर–खाङसार सडक खण्डमा राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मनाङकै चामे–बेंसीसहर सडक खण्डमा पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।

बागलुङको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ–रुकुम सहिदमार्ग तथा कालिकोटको कर्णाली राजमार्ग पनि पहिरो र लेदोका कारण अवरुद्ध छन्। गुल्मीका रिडी–तम्घास मदनभण्डारी राजमार्ग, रुद्रबेनी–वामीटक्सार सडक र कालीगण्डकी करिडोरका विभिन्न स्थानमा पहिरो तथा खोलाको बहाव बढेपछि सडक अवरुद्ध भएको छ।

म्याग्दीको बेनी–जोमसोम, मुस्ताङको जोमसोम–कोरला, हुम्लाको कर्णाली करिडोर, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, पाल्पाको सिद्धार्थ राजमार्ग र ललितपुरको कान्तिलोक पथमा पनि पहिरो तथा लेदोका कारण यातायात सञ्चालन हुन सकेको छैन। लमजुङको बेंसीसहर–मनाङ सडक तथा मध्यपहाडी लोकमार्ग, तनहुँको पृथ्वी राजमार्ग र पर्वतको मालढुङ्गा–बेनी सडक खण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

देशका विभिन्न जोखिमयुक्त सडकमा रातिको आवागमन रोक्ने तथा कतिपय सडकमा पूर्ण रूपमा यातायात बन्द गर्ने निर्णय गरिएको छ। प्रहरीले जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचनाअनुसार मात्र यात्रा गर्न आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×