मोरङको सुनवर्षीमा आगलागी : वृद्ध घाइते, सात लाखको क्षति

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १२, सोमबार ११:३३

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगा लक्ष्मीटोलमा आगलागी हुँदा एक जना वृद्ध घाइते भएका छन् । आगलागीबाट गाईगोठ र किचन जलेर नष्ट हुँदा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान करिब ४ः०५ बजेतिर स्थानीय लालचन्द शर्माको टिनको छाना र टाटीबेराले बनेको गाईगोठमा आगलागी भएको थियो । गाईगोठमा घुर बालेको अवस्थामा अचानक आगो सल्किएको जानकारी प्रहरीले दिएको छ ।

Advertisement

आगलागीको सूचना प्राप्त भएपछि प्रहरी चौकी बरडंगाबाट प्रहरी सहायक निरीक्षक चेतनारायण श्रेष्ठको कमान्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरी, रंगेली नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा बिहान ४ः४० बजेतिर आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीमा गोठधनी ७० वर्षीय लालचन्द शर्मा दुवै पाखुरा, दायाँ खुट्टा र टाउकोमा आगोले पोलेर घाइते भएका छन् । उपचारका लागि सुरुमा रंगेली अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएका उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट गाईगोठ र किचन पूर्णरूपमा जलेर नष्ट भएका छन् । एउटा ब्याउने गाई र तीनवटा गोरुसमेत जलेर घाइते भएका छन् । घटनामा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×