
विराटनगर । झापाको बिर्तामोडमा भएको ‘मेची तेक्वान्दो इन्डो नेपाल इन्टरनेशल’ प्रतियोगितामा विराटनगरका खेलाडी २ स्वर्णका साथै ४ रजत पदक जितेका छन् ।
बिर्तामोडमा भएको प्रतियोगितामा विराटनगरको फ्युजन तेक्वान्दो एकेडेमीका १२ जना पुरुष र महिला खेलाडीको सहभागिता रहेको थियो । नेपाल र भारतको खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए । फ्युजन एकेडेमीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण र ४ रजत पदक जित्न सफल भएका हुन् ।
प्रतियोगिताअन्तर्गत पुरुष पुम्सेतर्फ संस्कार विष्टले स्वर्ण पदक प्राप्त गरे । त्यस्तै, पुरुष ग्यारोगीतर्फ १८ केजी तौल समूहमा कमिसराज ओझाले स्वर्ण पदक जिते । पुरुष ग्यारोगीतर्फकै २९ केजी तौल समूहमा सार्थक मण्डल र ३७ केजी तौल समूहमा सुभाष विष्टले रजत पदक जितेका छन् ।
त्यसैगरी, महिला ग्यारोगीतर्फ ५३ केजी तौल समूहमा सोना राई र ४९ केजी तौल समूहमा समृद्धि थापाले रजत पदक प्राप्त गरेका छन् । प्रतियोगितामा खेलाडीहरूको प्रदर्शनले आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि समेत उत्साह थपेको प्रशिक्षक तथा अभिभावकहरूले बताएका छन् ।

























