
ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा ६ वर्षको अवधिमा दोस्रो पटक ठूलो आगलागी भएको छ। गत बिहीबार भएको आगलागीमा १० घर र १७ वटा पसल जलेका छन्। आगलागीबाट आठ परिवार प्रभावित भएका छन्।
२०७७ साल फागुनमा भएको आगलागीबाट सर्वस्व गुमाएका बजारवासी बिस्तारै व्यवसाय र दैनिकीलाई लयमा फर्काउँदै थिए। त्यही बेला फेरि आगलागी भएपछि उनीहरू पुनः आर्थिक संकटमा परेका छन्। अहिले पीडित परिवार आफन्त तथा छरछिमेकीको आश्रयमा छन् भने केही भग्नावशेष पन्छाउन र पुनर्निर्माणको तयारीमा जुटेका छन्।
८६ वर्षीय अग्निपीडित स्यामलाल खरेलले पटक पटकको आगलागीले ठूलो पीडा दिएको बताए। ‘व्यापार व्यवसायमा लगानी गरेर बसियो, सबै सखाप भयो। अब बसौँ कसरी बस्ने, जाउँ कता जाने ?’ उनले भने। अर्का पीडित चन्द्र पौडेलले सामान्य राहतले मात्र समस्या समाधान नहुने बताए। ‘यसरी तङ्ग्रिँदै गर्दा फेरि आगलागीले सखाप पार्यो। सरकारले बिना ब्याज ऋणको व्यवस्था गरिदिए पुनः स्थापित भएर साँवा फिर्ता गर्न सक्छौँ,’ उनले भने।
उद्योग वाणिज्य संघ दोभान शाखाका अध्यक्ष हरि काफ्लेले बजारका व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट समेत सहज रूपमा ऋण पाउन नसकेको बताए। नदी तथा खोलाको किनारमा बजार रहेकाले बैंकहरूले लगानी जोखिम देखाउँदै ऋण दिन आनाकानी गर्ने गरेको उनले बताए। जिल्ला विपद् व्यवस्थापन समिति, मेरिङ्देन गाउँपालिका, नेपाल रेडक्रसलगायत निकायले पीडितलाई तत्काल राहत उपलब्ध गराएका छन्। पीडितले भने दीर्घकालीन पुनः स्थापना र पुनर्निर्माणका लागि सरकारी सहयोग मागेका छन्।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट करिब १४ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। फुङ्लिङबाट ल्याइएका दुई दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।
दोभान बजारमा यसअघि २०७७ साल फागुनमा भएको आगलागीमा ४९ घर जलेका थिए भने ४० करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो। स्थानीयले बारम्बार हुने आगलागी नियन्त्रण र क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना तथा विद्युतीय सुरक्षाबारे सचेतना आवश्यक रहेको बताएका छन्।



















