
काठमाडौं । बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार अधिकांश स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही ठाउँमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ।
काठमाडौं उपत्यकाको ललितपुरस्थित गोदावरी नगरपालिका–४ को टीकाभैरव–चारधारे सडकमा पहिरो गएपछि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। कान्तिलोकपथको ताकुर्चे खण्ड भने पूर्ण रूपमा अवरुद्ध छ। बागमती प्रदेशको रसुवामा बाढीका कारण मुख्य राजमार्गका सबै खण्ड अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
गण्डकी प्रदेशमा पनि बाढी र पहिरोका कारण विभिन्न सडकमा यातायात प्रभावित भएको छ। मनाङको बेँसीसहर–खाडसार सडक बाढीका कारण तथा म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
मुस्ताङको जोमसोम–कोरला सडक, पर्वतको मालढुङ्गा–बेनी सडक तथा मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र लमजुङको मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण बन्द छन्। बागलुङको कालीगण्डकी करिडोरमा भने पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी करिडोर पहिरोका कारण पूर्ण रूपमा बन्द छ। पाल्पाको सिद्धार्थ राजमार्गमा भने पहिरो हटाएर एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ। प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने काम भइरहेको छ। सडकको अवस्था ठाउँअनुसार फरक रहेकाले यात्रा गर्नुअघि स्थानीय प्रहरी वा सम्बन्धित निकायसँग सम्पर्क गरी बाटोको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

























