काठमाडौं । देशका हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको तथा मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले मौसममा बदली आएको हो । महाशाखाका अनुसार बिहीबार (आज) दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका भूभागमा आंशिक बदली रहनेछ । यस क्रममा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
रातको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का वर्षाका साथै हिमपातको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।