सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १५, बिहीबार १०:१९

काठमाडौं। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई सुरक्षित र व्यवस्थित बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी गरेको छ। कार्यालयले सार्वजनिक सवारीसाधनको नियमित अनुगमनलाई प्रभावकारी बनाउँदै यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिएका विषयमा कडाइ गर्न लागेको हो।

यसका लागि सम्बन्धित निकायसँगको समन्वयमा सार्वजनिक सवारीसाधनको अवस्था, आवश्यक कागजात, रुट परमिट तथा सुरक्षा उपकरणको नियमित परीक्षण गरिने भएको छ। सार्वजनिक यातायातका साधन सञ्चालनका लागि सम्बन्धित रुटको अनुमति लिनुपर्ने व्यवस्था भए पनि कतिपय सवारीसाधन आवश्यक कागजातबिना वा तोकिएको रुटभन्दा बाहिर सञ्चालन हुने गरेको गुनासो आउने गरेको प्रहरीले जनाएको छ। यस्ता गतिविधि नियन्त्रण गर्न रुट परमिटको अनुगमनमा समेत कडाइ गर्न लागिएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सार्वजनिक सवारीसाधनमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार सवारीसाधनमा विद्युतीय तथा प्राविधिक समस्या, इन्धन चुहावटलगायतका कारण जुनसुकै बेला आगलागी हुनसक्ने भएकाले सुरुवाती अवस्थामै आगो नियन्त्रण गर्न सकिने उपकरण सवारीसाधनमै राख्न आवश्यक छ।

‘सबै सार्वजनिक सवारीमा उक्त नियम कडाइका साथ लागू गरिनेछ,’ उनले भने। सार्वजनिक सवारीमा प्रयोगयोग्य अवस्थामा रहेको अग्निनियन्त्रक यन्त्र राख्नुपर्ने व्यवस्था गर्न लागिएको उनले बताए। ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले सार्वजनिक सवारीसाधनको अवस्था, चालकको क्षमता, आवश्यक कागजात, रुट परमिट तथा अग्निनियन्त्रक यन्त्रको अवस्था र प्रयोगयोग्यताको नियमित अनुगमन गरिने बताए।

‘अनुगमनका क्रममा अग्निनियन्त्रक यन्त्रलगायतका मापदण्ड पूरा नगरेका सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइनेछ,’ उनले भने, ‘यात्रुको सुरक्षा पहिलो प्राथमिकता हो। यात्रुको सुरक्षा सुनिश्चितताका लागि बाटो इजाजत (रुट परमिट) लगायतका मापदण्ड पूरा गर्नु अनिवार्य सर्त हो।’

चाडपर्व तथा अन्य समयमा सार्वजनिक यातायातमा यात्रुको चाप बढ्ने र सवारीसाधनको आवागमन बढी हुने भएकाले दुर्घटना तथा अन्य जोखिम न्यूनीकरणका लागि सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको सुवेदीले बताए।

ट्राफिक प्रहरीले सार्वजनिक सवारीधनी तथा व्यवसायीलाई प्रचलित कानुन र सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। साथै यात्रुको सुरक्षामा प्रत्यक्ष असर पार्ने विषयमा लापरबाही नगर्न तथा सवारीसाधनको नियमित परीक्षण र मर्मतसम्भार गर्न आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×