
काठमाडौं । नेपालबाट यस वर्षको मनसुन बाहिरिने क्रम सुरु हुने भएको छ । मौसमविद्हरूका अनुसार हाल ठूलो वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले अबको केही दिनमा मनसुन क्रमशः कमजोर हुँदै जाने संकेत देखिएको छ ।
मौसमविद् बिनु महर्जनका अनुसार भारतका अधिकांश भूभागबाट मनसुन बाहिरिसकेको छ । नेपालमा पनि पश्चिमी भू–भागबाट मनसुन बाहिरिने प्रक्रिया सुरु हुने क्रममा छ । ‘अहिलेसम्मको संकेत हेर्दा दशैंसम्ममा मनसुन बाहिरिन सक्ने सम्भावना छ,’ मौसमविद् महर्जनले भनिन् ।
यस वर्ष नेपालमा गत ५ असारमा पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । सामान्यतया नेपालमा जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ । यद्यपि मनसुनको आगमन र बहिर्गमनको मिति वर्षअनुसार केही दिन तलमाथि हुने गरेको छ ।
अस्तिसम्म पनि मनसुन सक्रिय रहँदा देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । पछिल्लो समय भने मनसुनी गतिविधि कमजोर बन्दै गएको मौसमविद्हरूले बताएका छन् । मौसमविद् उज्वल उपाध्यायका अनुसार मनसुन कमजोर हुँदै गए पनि केही दिनसम्म हल्का वर्षाको सम्भावना भने कायमै रहनेछ ।
मौसमविद् विनोद पोखरेलले पनि दशैंका बेला सिमसिमे पानी पर्ने सम्भावना रहेको बताएका छन् । उनका अनुसार त्यस्तो वर्षाले चिसो महसुस गराउन सक्छ ।
यस वर्ष घटस्थापना असोज २५ गते र टीका कात्तिक ४ गते परेको छ । मनसुन बाहिरिएपछि पनि स्थानीय मौसमी प्रणालीका कारण छिटपुट वर्षा हुनसक्ने भएकाले दशैंमा मौसम पूर्णतः सुख्खा नै हुन्छ भन्ने अवस्था भने नरहेको मौसमविद्हरूको भनाइ छ ।



















