विवादपछि मोरङ-६ को कांग्रेस अधिवेशन नयाँ संयोजकमार्फत अघि बढ्ने

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १६, शुक्रबार ०८:५०

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को अधिवेशनमा विवाद भएपछि केन्द्रले संयोजक परिवर्तन गरेर अधिवेशन प्रक्रिया अघि बढाउने भएको छ ।

बुधबारको अधिवेशनमा विवाद भएपछि कांग्रेस केन्द्रले जिल्लाका सहसचिव सञ्जय मण्डललाई नयाँ संयोजकको जिम्मेवारी दिएको हो । अब अधिवेशन सुन्दरहरैँचा–४ बाट सारेर बुढीगंगा गाउँपालिका-३ स्थित राजवंशी खवास सामुदायिक भवनमा सञ्चालन गरिने मण्डलले बताएका छन् ।

कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पनि संयोजक परिवर्तन गरी अधिवेशन प्रक्रिया अघि बढाउन लागिएको पुष्टि गरेकी छन् । मोरङका क्षेत्र नम्बर १ देखि ५ सम्मको अधिवेशन सम्पन्न भइसकेको छ । क्षेत्र नम्बर ६ मा भने बुधबारको घटनापछि अधिवेशन प्रक्रिया नै प्रभावित भएको हो । यो क्षेत्र कांग्रेस नेता डा. शेखर कोइरालाको निर्वाचन क्षेत्रसमेत हो ।

अधिवेशनअघि सहमतिको प्रयास

क्षेत्र नम्बर ६ को अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न गर्ने प्रयास यसअघि नै हुँदै आएको थियो । महामन्त्री गुरुराज घिमिरे, विराटनगरका मेयर नागेश कोइराला, ट्रेड युनियन मोरङका अध्यक्ष सुशील कोइराला र सहमहामन्त्री संग्रौलालगायतका नेताबीच यस विषयमा छलफल भएको थियो ।

मंगलबार राति पनि विराटनगरस्थित एक नेताको घरमा केन्द्र तथा मोरङका केही नेताबीच छलफल भएको थियो । करिब डेढ घण्टा चलेको छलफलमा क्षेत्रीय अधिवेशनमा सहमति कायम गरेर अघि बढ्ने प्रयास गरिएको सहभागी एक नेताले बताए ।

ती नेताका अनुसार डा. शेखर कोइरालाको क्षेत्रमा विवाद नहुने गरी अधिवेशन सम्पन्न गर्न सुझाव दिइएको थियो । क्षेत्रीय सभापतिका लागि देवराज तामाङको नाममा सहमति जुटाउने प्रयाससमेत भएको उनले बताए ।

‘तामाङलाई स्वीकार गर्न नसकिए अर्को उम्मेदवारमा सहमति गराउने प्रयास पनि भएको थियो,’ ती नेताले भने, ‘बुढीगंगा गाउँपालिकाका प्रमुख जीतनारायण थापाको नाममा समेत छलफल भयो । तर, कुनै नाममा सहमति जुट्न सकेन ।’

सहमतिको प्रयासमा सहमहामन्त्री संग्रौलाले भने फरक मत राखेको ती नेताको भनाइ छ । संग्रौलाले भने अधिवेशनमा सहमति नमान्ने भन्ने विषय नै नरहेको बताएकी छन् । ‘अधिवेशनमा सहमति मान्न नमान्ने भन्ने कुरै छाडौँ । सहमतिका लागि कसैले केही भनेका छैनन्,’ उनले भनिन् ।

मंगलबार रातिको छलफल निष्कर्षविहीन भएपछि नेताहरू आ-आफ्नो घर फर्किएका थिए । त्यसको भोलिपल्ट बुधबार अधिवेशनस्थलमा विवाद भएको हो ।

दुवै पक्षका फरक दाबी

बुधबारको घटनापछि सहमहामन्त्री संग्रौलाले विज्ञप्ति जारी गर्दै केही व्यक्तिले मादक पदार्थ सेवन गरी हातहतियारसहित अधिवेशनस्थलमा प्रवेश गरेर सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि आक्रमण गरेको आरोप लगाएकी थिइन् ।

उनले घटनामा क्षेत्रीय सभापति देवराज तामाङलाई जिम्मेवार ठहर गर्दै तामाङबाट परिचालित समूहले आक्रमण गरेको दाबी गरेकी छन् । तामाङले भने उक्त आरोप अस्वीकार गर्दै छुट्टै विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनका अनुसार बुधबार अधिवेशनकी प्रमुख अतिथिसमेत रहेकी सहमहामन्त्री संग्रौला निर्धारित समयमा कार्यक्रमस्थलमा पुग्न नसकेपछि सहभागी कार्यकर्तामा असन्तुष्टि बढेको थियो ।

निर्वाचन तथा क्रियाशील सदस्यतासम्बन्धी विषयमा समेत विरोध भएको तामाङको भनाइ छ । क्षेत्रीय सभापतिको जिम्मेवारी निर्वाचन प्रक्रिया निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउनु भए पनि घटनाको मुख्य जिम्मेवार आफूलाई देखाउने प्रयास तथ्यपरक र न्यायोचित नभएको उनले बताएका छन् ।

विवादपछि केन्द्रले संयोजक परिवर्तन गरेसँगै अब नयाँ स्थानबाट अधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । क्षेत्र नम्बर ६ को अधिवेशनलाई कसरी सहमतिका साथ टुंग्याउने भन्ने विषय कांग्रेस मोरङमा चासोको विषय बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×