
म्याग्दी । भूगर्भविद्को टोलीले म्याग्दीका पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा स्थलगत अध्ययन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौर्गर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवडासहितको प्राविधिक टोलीले शुक्रबारदेखि पहिरोग्रस्त क्षेत्रको अध्ययन थालेको हो ।
टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी खोल्सा, खोरिया पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । नगरपालिकाको सिफारिस र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार भूगर्भविद् तथा प्राविधिक टोलीले अध्ययन थालेको उनले बताए । बेनी बजारसहित नगरपालिका र जिल्लाका अन्य जोखिमयुक्त क्षेत्रको समेत प्राविधिक अध्ययन गर्ने योजना रहेको उनको भनाइ छ ।
भूगर्भविद्को टोलीले दिने सुझावका आधारमा पहिरो प्रभावित क्षेत्रमा अल्पकालीन तथा दीर्घकालीन रोकथामका काम अघि बढाइने नगरप्रमुख केसीले बताए । भूगर्भविद् एवं त्रिचन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक चम्पकबाबु सिलवालका अनुसार पहिरोको अवस्था र माटोको बनोट आँकलन गर्न ड्रोनबाट तस्बिर लिइनेछ । पहिरो खसेको स्थानबाट ढुङ्गा तथा माटोका नमूना सङ्कलन गरी वैज्ञानिक अध्ययनसमेत गरिने उनले बताए ।
उनका अनुसार विभिन्न विधि र उपकरणको प्रयोग तथा स्थलगत निरीक्षणबाट पहिरो प्रभावित क्षेत्रको अध्ययन भइरहेको छ । काठमाडौँबाट आएका चार जना, स्थानीय तहका प्राविधिक तथा भूगर्भविज्ञान अध्ययन गरेका स्थानीय जनशक्तिलाई तीन समूहमा विभाजन गरी अध्ययन थालिएको उनले बताए । टोलीले स्थलगत अध्ययन तथा सङ्कलित नमूनाको विश्लेषणपछि सरकारलाई प्राविधिक प्रतिवेदन बुझाउनेछ ।
गत हप्ताको वर्षापछिको बाढीपहिरोका कारण म्याग्दीमा सात जनाको मृत्यु, दुई जना बेपत्ता, दुई सयभन्दा बढी घरगोठमा पूर्ण क्षति तथा दर्जनौँ गाउँका बासिन्दा विस्थापित भएका छन् । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार शुक्रबारसम्म १११ घरमा पूर्ण, ९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर जोखिममा छन् । क्षतिको विवरण थपिन सक्ने उनले बताए ।
असोज ८ देखि ११ गतेसम्म परेको झरीपछि आएको बाढीपहिरोका कारण जिल्लाका मुख्य सडक, विद्युत् र सञ्चार सेवा प्रभावित भएका छन्। अवरुद्ध यातायात, सञ्चार तथा विद्युत् सेवा सुचारु गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताए ।

























