
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको ऐतिहासिक खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन हुँदैछ ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते आइतबार दिउँसो २ बजे काठमाडौं टुँडिखेलस्थित खुलामञ्चमा हुँदैछ । यही खुलामञ्चमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गरेका थिए ।
महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम छ । उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताका साथै मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यो महाधिवेशन कांग्रेसका लागि ऐतिहासिक रहेको बताए । उनका अनुसार महाधिवेशनको प्रक्रियाबाट नवपुस्ताका ४४ हजार युवा विभिन्न जिम्मेवारीमा आएका छन् भने उनीहरूसहित सात हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् ।
गत पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि यो महाधिवेशन हुन लागेको हो ।
यस महाधिवेशनबाट ३५ वर्षमुनिका युवासँगै लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह र विदेशमा रहेका नेपालीले पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाउने कांग्रेसले जनाएको छ ।
‘ऊर्जाशील कांग्रेस, नयाँ सङ्कल्प’ महाधिवेशनको मूल मन्त्र राखिएको छ । प्रवक्ता चालिसेका अनुसार छलफल सत्रमा नयाँ सङ्कल्पका विषयमा छलफल गरी त्यसको कार्यान्वयनको खाका तयार गरिनेछ । महाधिवेशनले ती सङ्कल्प कार्यान्वयन गर्ने नेतृत्व चयन गर्ने र कांग्रेसमा विधि तथा पद्धति निर्माणमा केन्द्रित हुने उनले बताए ।
कांग्रेसले आफ्नो राजनीतिक इतिहासलाई नयाँ पुस्ता र भविष्यसँग जोड्ने उद्देश्यसमेत महाधिवेशनबाट अघि सार्ने जनाएको छ । चालिसेका अनुसार बीपी कोइरालाका विचारलाई देशको समृद्धिको वैचारिक आधार बनाउँदै अघि बढ्ने विषयमा पनि छलफल हुनेछ ।
महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाडौं आउने क्रम जारी छ । पार्टी कार्यालयका अनुसार करिब सात हजार ५०० महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।
महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार ५०० रुपैयाँ बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।
आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक–एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका प्रतिनिधिको बसोबास व्यवस्थापनमा समन्वय गर्ने जनाएको छ । सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।
असोज १८ गते उद्घाटनपछि १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले छुट्टाछुट्टै प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाएर तीन फरक हलमा छलफल गरिनेछ । प्रत्येक हलमा राखिएका डिजिटल बोर्डमार्फत सहभागीले प्रस्तुत प्रतिवेदन हेर्न र सुन्न पाउने प्रवक्ता चालिसेले बताए ।
निर्वाचन समितिका अनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ । निर्वाचनको कार्यक्रम आवश्यकताअनुसार परिमार्जन हुन सक्ने समितिले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुने निजी कार तथा मोटरसाइकलका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र पुरानो बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । ठूला बसका लागि भने माइतीघरदेखि भद्रकाली खण्डको एक लेनमा पार्किङ गरिनेछ ।
महाधिवेशनका गतिविधि र सूचना नियमित रूपमा सार्वजनिक गर्न खुलामञ्चमै मिडिया सेन्टर स्थापना गरिएको छ । त्यहाँबाट महाधिवेशन अवधिभर आवश्यक सूचना तथा मिडिया ब्रिफिङ गरिने कांग्रेसले जनाएको छ ।

























