
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा. सुनीलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गर्दै शर्माले कांग्रेसको नेतृत्व र आम नागरिकबीचको दूरी घटाउँदै गाउँ तथा दूरदराजका नागरिकका आवाज पार्टीको केन्द्रसम्म पुर्याउने मुख्य एजेन्डासहित महामन्त्रीमा दाबी प्रस्तुत गरेका हुन् । मोरङ–३ बाट अत्यधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित शर्माले कांग्रेसलाई काठमाडौंमा सीमित नेतृत्व र निर्णय प्रक्रियाबाट बाहिर निकालेर देशभरका कार्यकर्ता तथा नागरिकसँग प्रत्यक्ष जोड्ने आवश्यकता औँल्याए ।
पार्टीको राजनीतिक एजेन्डा बनाउँदा गाउँका नागरिकले भोगिरहेका वास्तविक समस्या, दैनिक आवश्यकता र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । शर्माले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, पूर्वाधार तथा सामाजिक सुरक्षाजस्ता जनसरोकारका विषयलाई कांग्रेसको राजनीतिक बहसको केन्द्रमा लैजाने बताएका छन् ।
उनले गाउँमा बस्ने नागरिकले राज्यबाट पाउनुपर्ने आधारभूत सेवा सहज रूपमा पाउने अवस्था निर्माण गर्न पार्टीले स्पष्ट नीति र प्रभावकारी पहल गर्नुपर्ने धारणा राखेका छन् । उनको अर्को प्राथमिकता पार्टी संगठनलाई तल्लो तहसम्म थप सुदृढ बनाउने रहेको छ ।
वडा, पालिका, प्रदेश र जिल्लास्तरका कार्यकर्ताको भूमिका बलियो बनाउँदै उनीहरूका सुझाव र गुनासो केन्द्रसम्म पुर्याउने संयन्त्र आवश्यक रहेको शर्माले बताएका छन् । पार्टीभित्र निर्णय प्रक्रियामा कार्यकर्ता र जनप्रतिनिधिको सहभागिता बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा २०५४ सालदेखि कांग्रेस राजनीतिमा छन् । १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी पछिल्लो समय पार्टीभित्र सक्रिय युवा नेताका रूपमा देखिँदै आएका छन् ।
महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्दै शर्माले कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोडिएको, गाउँका समस्या सुन्ने र ती समस्यालाई राष्ट्रिय नीतिको विषय बनाउने राजनीतिक शक्तिका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । कांग्रेसको आइतबारबाट सुरु हुने १५औँ महाधिवेशनमा नेतृत्व तथा पदाधिकारीका आकांक्षीहरूले आफ्नो दाबी सार्वजनिक गर्ने क्रम बढिरहेका बेला शर्माको महामन्त्री पदको घोषणालाई पनि पार्टीभित्रको प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

























