
भैरहवा । रुपन्देहीमा १० वर्षीया बालिकाको अपहरण घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका–१७ दरखसवाका २७ वर्षीय विशाल उर्फ युवराज थारुलाई पक्राउ गर्ने क्रममा गोली चलाइएको हो । उनको खुट्टामा गोली लागेको छ ।
गत बुधबार राति तिलोत्तमा नगरपालिकास्थित आफ्नै घरमा सुतिरहेकी बालिकालाई अपहरण गरिएको थियो । घटना लगत्तै प्रहरीले खोजी तीव्र बनाएको थियो । खोजीका क्रममा शुक्रबार साँझ तिलोत्तमा–कान्छी बजारस्थित जंगलबाट बालिकालाई सकुशल फेला पारिएको प्रहरीले जनाएको छ ।
बालिकाको उद्धारपछि घटनामा संलग्न व्यक्तिको खोजी गरिरहेको प्रहरीले थारुलाई फेला पारेको थियो । पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

























