विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १९, सोमबार १६:२९

विराटनगर । उद्योग संगठन मोरङले उद्योग तथा व्यवसाय क्षेत्रमा देखिएका व्यावहारिक तथा नीतिगत समस्या समाधान गर्दै लगानी र उत्पादनमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारीसहित सदस्यहरूसमक्ष संगठनले उद्योग क्षेत्रका समस्या र समाधानका उपायबारे सुझाव प्रस्तुत गरेको हो ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग तथा व्यवसाय क्षेत्रले भोगिरहेका समस्या, नीतिगत जटिलता र समाधानका उपायबारे सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल पनि सहभागी थिए । राठीले उद्योगीलाई आश्वासनभन्दा निर्णय आवश्यक रहेको भन्दै तत्काल गर्न सकिने काममा ढिलाइ नगर्न आग्रह गरे । उनले विराटनगर–कटहरी हुलाकी राजमार्गको करिब ६ किलोमिटर सडक निर्माणमा भइरहेको ढिलाइ, औद्योगिक क्षेत्रमा हुने विद्युत् कटौती, सार्वजनिक बिदा र औद्योगिक उत्पादनबीचको असन्तुलन, जुट उद्योगको समस्या, कर तथा भन्सार नीतिलगायत विषय उठाएका थिए ।

राठीले हुलाकी राजमार्गअन्तर्गत कटहरी–विराटनगर खण्डको करिब ६ किलोमिटर सडक निर्माणमा वर्षौंदेखि भइरहेको ढिलाइले त्यस क्षेत्रका उद्योग प्रभावित भएको बताए । उक्त सडक आसपास सयभन्दा बढी उद्योग रहेको भन्दै उनले कच्चा पदार्थ ढुवानी, उत्पादित वस्तुको ओसारपसार र श्रमिकको आवतजावतमा समस्या भइरहेको बताए । सडक निर्माण तत्काल अघि बढाउन सकिने विषय भएकाले निर्णय गरेर काम सुरु गर्न उनले समितिसमक्ष आग्रह गरे ।

औद्योगिक क्षेत्रमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नुपर्नेमा पनि संगठनले जोड दिएको छ । बर्जु र केरौन सबस्टेशन सञ्चालनमा ढिलाइ हुँदा समस्या भएको तथा सुख्खायाममा दैनिक चारदेखि सात घण्टासम्म विद्युत् कटौती हुने अवस्था आउने गरेको राठीले बताए । उद्योगले उत्पादन, कच्चा पदार्थ र बजारको योजना बनाउन विद्युत् आपूर्तिको पूर्वानुमान आवश्यक पर्ने भन्दै उनले सुख्खायाममा विद्युत् व्यवस्थापनको स्पष्ट योजना सार्वजनिक गर्न माग गरे ।

संगठनले जुट उद्योगको संरक्षणलाई पनि प्राथमिकताका साथ उठाएको छ । नेपालका सातवटा जुट उद्योग बन्द हुने जोखिममा रहेको र यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब १५ हजार रोजगारी जोडिएको राठीले बताए । भारतले नेपाली तथा बंगलादेशी जुट उत्पादनमा प्रतिकारात्मक शुल्कसम्बन्धी अनुसन्धान अघि बढाएको प्रसंग उल्लेख गर्दै उनले जुट उद्योगको संरक्षणका लागि उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्ने बताए ।

भारतसँगको व्यापारसम्बन्धी संयन्त्रमा विषय उठाउन तथा दुवै देशका निजी क्षेत्रबीच संवाद अघि बढाउनुपर्ने उनको भनाइ थियो । ‘१५ हजार मानिसको रोजगारी गुमेपछि राहत बाँड्नु समाधान होइन, उद्योग जोगाउनु नै समाधान हो,’ राठीले भने । यसैगरी, संगठनले जीआई तार उद्योगमा लाग्दै आएको अन्तःशुल्क पुनरावलोकन गर्न पनि माग गरेको छ । उपलब्ध व्यापार तथ्यांकअनुसार विराटनगर भन्सारबाट जीआई तारको निर्यात आर्थिक वर्ष २०७५–७६ मा २२ हजार ७४० मेट्रिक टन रहेकोमा आर्थिक वर्ष २०७८–७९ मा ६७२ मेट्रिक टनमा झरेको र हाल निर्यात शून्य रहेको संगठनले जनाएको छ ।

कच्चा पदार्थ एमएस रडमा प्रतिकिलो ४ रुपैयाँ ५० पैसा तथा तयारी वस्तुमा प्रतिकिलो ५ रुपैयाँ अन्तःशुल्क लाग्दा भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भएको राठीले बताए । कच्चा पदार्थमा लाग्ने अन्तःशुल्क हटाए वार्षिक ३० हजार मेट्रिक टनसम्म निर्यात गर्न सकिने उनको दाबी छ । ठूला पूर्वाधार तथा जलविद्युत् आयोजनाले आयात गर्ने केबल र एसीएसआर कन्डक्टरमा भन्सार तथा मूल्य अभिवृद्धि कर छुट हुने तर नेपालमा उत्पादन गर्ने उद्योगले कच्चा पदार्थमा भन्सार तिर्नुपर्ने अवस्थाले स्वदेशी उद्योगलाई प्रतिस्पर्धामा कमजोर बनाएको संगठनको भनाइ छ । गुणस्तर र मापदण्ड पूरा गर्ने स्वदेशी उत्पादनलाई पनि विदेशी उत्पादनसरह प्रतिस्पर्धाको अवसर र प्राथमिकता दिनुपर्ने राठीले बताए ।

त्यस्तै, उद्योगको लागत घटाउन विद्युत्मा लाग्ने कर संरचनाको पुनरावलोकन, वातावरणीय अध्ययनको प्रक्रिया सरल र समयबद्ध बनाउन तथा लजिस्टिक लागत घटाउनुपर्ने सुझाव पनि संगठनले दिएको छ । विराटनगरमा निर्माण भएको रेल पूर्वाधारलाई नियमित रूपमा सञ्चालन गर्नुपर्ने माग पनि संगठनले अघि सारेको छ । तेस्रो मुलुकबाट सामान ल्याउन रेलमार्फत ढुवानीको सम्भावना भए पनि नियमित सेवा सञ्चालन हुन नसकेको भन्दै राठीले सरकारलाई उद्योगी र रेल कम्पनीबीच समन्वय गराएर समाधान खोज्न आग्रह गरे ।

बजारमा सामान बिक्री गरेपछि रकम समयमै फिर्ता नआउने समस्या उद्योगीले भोगिरहेको भन्दै संगठनले उधारो कारोबारलाई कानुनी रूपमा सुरक्षित गर्नुपर्ने माग गरेको छ । उद्योगको रकम बजारमा अड्किँदा बैंकको ऋण, श्रमिकको तलब तथा कच्चा पदार्थ खरिदमा समेत असर पर्ने भएकाले उधारो कारोबारसम्बन्धी कानुन ल्याउन ढिलाइ गर्न नहुने राठीको भनाइ छ । राठीले राज्य र निजी क्षेत्रबीचको सम्बन्ध कर उठाउने र कर तिर्नेमा मात्र सीमित हुन नहुने बताए। निजी क्षेत्रलाई आर्थिक साझेदारका रूपमा हेर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।

सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न खोज्नु सकारात्मक भए पनि त्यसले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने राज्यको सन्देश जान नहुने उनले बताए । सरकारी उद्योगसँगै निजी क्षेत्रका हजारौँ उद्योग सञ्चालन हुने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । राठीले उद्योगीप्रति समाज र राज्यको दृष्टिकोणमा समेत परिवर्तन आवश्यक रहेको बताए । उद्योगीलाई नाफाखोर वा शंकास्पद व्यक्तिका रूपमा हेर्ने प्रवृत्तिले लगानीको वातावरण कमजोर बनाउने भन्दै उनले उद्योगीलाई समस्या होइन, आर्थिक विकासको साझेदारका रूपमा हेर्न आग्रह गरे ।

उद्योग संगठन मोरङले तत्काल गर्न सकिने काममा ढिलाइ नगर्न, औद्योगिक पूर्वाधार सुधार गर्न, कर तथा भन्सार नीतिमा पुनरावलोकन गर्न र स्वदेशी उत्पादन तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति लिन समितिसमक्ष आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा विद्युत् प्राधिकरण इटहरीका इन्जिनियरविरुद्ध मुद्दा
मधेश प्रदेशमा भ्रष्टाचारसम्बन्धी १० हजार ७४६ उजुरी
झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान घोषणा
२० अंकले घट्यो नेप्से
विराटनगरका उद्योगीको मागः नीतिगत झन्झट हटाएर उद्योगमैत्री वातावरण बनाऊ
विराटनगर किंग्स र एभरेस्ट बैंकले गरे सहकार्य सम्झौता
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×