
काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्णनारायण यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगले आज (सोमबार) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित वितरण केन्द्रमा कार्यरत यादवले गार्मेन्ट उद्योगमा २० केभीए क्षमताको विद्युत् लाइन जडान गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीपछि अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा यादवले विद्युत् लाइन जडानको काममा बदनियतपूर्वक ढिलासुस्ती गरी सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिएको र काम गरिदिएबापत ५० हजार रुपैयाँ घुस मागेर लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम यादवलाई कैद सजाय र ५० हजार रुपैयाँ बिगो बराबर जरिवाना मागदाबी गरेको छ ।

























