स्तन क्यान्सर बढ्दो, समयमै पहिचानमा जोड

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २०, मंगलबार १२:४८
स्तन क्यान्सर बढ्दो, समयमै पहिचानमा जोड

काठमाडौं । नेपालमा महिलामा हुने क्यान्सरको स्वरूप पछिल्लो एक दशकमा बदलिएको छ । कुनै समय महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सरलाई उछिन्दै अहिले स्तन क्यान्सर पहिलो स्थानमा पुगेको चिकित्सकहरूले बताएका छन् । पछिल्ला वर्षमा नेपालमा वार्षिक करिब पाँच हजार महिलामा स्तन क्यान्सर पहिचान हुने गरेको तथ्यांक छ, जुन एक दशकअघि दुई हजार पाँच सयदेखि तीन हजारको हाराहारीमा थियो ।

क्यान्सर विशेषज्ञका अनुसार स्तन क्यान्सरको जोखिम ४० देखि ५० वर्ष उमेर समूहमा बढी देखिन्छ । त्यसपछि ५० देखि ६० वर्ष उमेर समूह प्रभावित हुने गरेको छ । नेपाल क्यान्सर अस्पतालका क्यान्सर सर्जन तथा स्तन क्यान्सर विशेषज्ञ डा. कपेन्द्रमान अमात्यका अनुसार पछिल्लो ८–१० वर्षयता स्तन क्यान्सरका बिरामी निरन्तर बढिरहेका छन् । भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर सर्जन डा. पुण्य खरबुजाले पनि नेपालसँगै विश्वभर महिलामा स्तन क्यान्सर बढिरहेको बताएका छन् ।

चिकित्सकका अनुसार स्तन क्यान्सरको १०–१२ प्रतिशतसम्म कारण वंशाणुगत हुन सक्छ भने बाँकीमा जीवनशैलीलगायत विभिन्न कारणको भूमिका रहने गरेको छ । शारीरिक निष्क्रियता, मोटोपना, सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, प्रदूषित वातावरण र बदलिँदो जीवनशैलीलाई जोखिम बढाउने प्रमुख कारकका रूपमा चिकित्सकले औँल्याएका छन् । ढिला विवाह र ढिला बच्चा जन्माउने प्रवृत्तिले पनि हर्मोनमा हुने परिवर्तनमार्फत जोखिम बढाउन सक्ने उनीहरूको भनाइ छ ।

ग्रामीण तथा सहरी दुवै क्षेत्रका महिलामा स्तन क्यान्सर देखिन थालेको चिकित्सकहरू बताउँछन् । आधुनिक जीवनशैलीसँगै शारीरिक गतिविधि कम हुनु, तयारी तथा प्याकेट बन्द खानेकुराको बढ्दो प्रयोग र मोटोपनाले जोखिम थप बढाउन सक्ने उनीहरूको विश्लेषण छ । यद्यपि यी कारणमध्ये कुन कति जिम्मेवार छन् भन्ने विषयमा नेपालमै पर्याप्त अध्ययन भने भइसकेको छैन।

स्तनमा गाँठा वा गिर्खा आउनु, स्तनबाट पानी वा रगत मिसिएको तरल पदार्थ निस्कनुजस्ता परिवर्तनलाई सम्भावित लक्षणका रूपमा चिकित्सकले औँल्याएका छन्। तर स्तनमा देखिने करिब ९० प्रतिशत गिर्खा क्यान्सरजन्य नहुने भएकाले गाँठा देखिँदैमा आत्तिनुभन्दा समयमै स्वास्थ्य परीक्षण गराउन उनीहरूको सुझाव छ। नियमित रूपमा आफ्नो स्तन आफैँ जाँच गर्ने तथा चिकित्सकको सल्लाहअनुसार भिडियो एक्स-रे वा मेमोग्राम गराउन पनि सुझाव दिइएको छ।

समयमै पहिचान र उपचार भए स्तन क्यान्सर ८० देखि ९० प्रतिशतसम्म निको हुन सक्ने चिकित्सक बताउँछन्। नेपालमै शल्यक्रिया, नयाँ पुस्ताका किमोथेरापी तथा अन्य उपचार प्रविधि उपलब्ध हुन थालेकाले उपचारको सफलतासमेत बढ्दै गएको उनीहरूको भनाइ छ।

स्तन क्यान्सरको जोखिम कम गर्न सन्तुलित खानपान, नियमित व्यायाम, स्वस्थ तौल कायम राख्ने र सुर्तीजन्य पदार्थबाट टाढा रहनेजस्ता उपाय अपनाउन चिकित्सकले सुझाएका छन्। साथै स्वच्छ वातावरण, तयारी खानाको गुणस्तरमा प्रभावकारी निगरानी, सुर्तीजन्य पदार्थ नियन्त्रण तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा राज्यले समेत प्राथमिकता दिनुपर्ने उनीहरूको जोड छ।

अक्टोबरलाई विश्वभर स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाइने भएकाले चिकित्सकहरूले रोग लुकाउनेभन्दा समयमै परीक्षण र उपचारमा जान आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×