
काठमाडौं । सर्वोच्च अदालतमा व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ । आज (मंगलबार) न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।
सुनुवाइका क्रममा सरकारी वकिलले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरको मुद्दा जिल्ला अदालतमा दायर भइसकेकाले बन्दीप्रत्यक्षीकरण रिटको औचित्यमाथि प्रश्न उठाएका थिए ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार अब उक्त मुद्दामा जिल्ला अदालतबाटै सुनुवाइ हुने भएको छ । मुद्दा जिल्ला अदालतमा दायर भइसकेकाले सर्वोच्चमा दायर बन्दीप्रत्यक्षीकरण रिट अघि नबढ्ने भएको उनले जानकारी दिए ।
यसअघि सर्वोच्च अदालतले प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरको अनुसन्धान तथा म्याद थपसम्बन्धी सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।
प्रसाईंका तर्फबाट उनकी श्रीमती उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोलगायतलाई विपक्षी बनाई बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

























