मृतकको संख्या १,४५७ पुग्यो, ४,७२० अझै बेपत्ता

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २१, बुधबार ११:१४

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ४५७ पुगेको छ । बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट १ हजार ४५५ जनाको शव फेला परेको छ भने काठमाडौंमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको हो ।

नेपाल प्रहरीका अनुसार सबैभन्दा धेरै चितवनमा ३६९ जनाको शव फेला परेको छ । रसुवामा २३६, नवलपरासी पूर्वमा २३२, नुवाकोटमा २०५, नवलपरासी पश्चिममा २२२, गोरखामा ८०, धादिङमा ७३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।

बाढीपछि शव पहिचान र व्यवस्थापनको काम पनि निरन्तर भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म १ हजार ३३४ शवको कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३३६ र आफन्तका २ हजार ८२ गरी कुल ३ हजार ४१८ वटा डीएनए नमुना संकलन गरिएको छ ।

प्रहरीका अनुसार पहिचान हुन बाँकी १ हजार ४४० शवको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ । आफन्तबाट संकलन गरिएको डीएनए नमुनासँग मिलान गरी शव पहिचान गर्ने प्रक्रिया अघि बढाइएको छ ।

बाढीमा परी अझै ४ हजार ७२० जना बेपत्ता रहेको विवरण छ । उनीहरूको खोजीका लागि प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरिएको छ । खोजी तथा उद्धारसँगै राहत वितरण र शव व्यवस्थापनको कामलाई पनि प्रहरीले निरन्तरता दिएको जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत र शव व्यवस्थापनका लागि मात्रै ७ हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ । प्रभावित जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा १ हजार १७९ जनालाई आश्रय दिइएको छ ।

बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण संकलन, बेपत्ताको खोजी तथा शव पहिचानको काम जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×