केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेकाठमाडौं । बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउन नेपाल प्रहरीले आजदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना-२०८३’ लागू गरेको छ । पर्वका बेला आमनागरिकको जनजीवन सामान्य राख्न, बैंक तथा वित्तीय संस्थासँग हुने कारोबार सुरक्षित गर्न र विभिन्न गन्तव्यमा जाने यात्रुलाई सुरक्षित आवागमनको व्यवस्था मिलाउन योजना लागू गरिएको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चाडपर्वको मौका छोपेर चोरी, डकैती, जुवातास, सट्टेबाजी, तस्करी तथा सीमा अपराध बढ्न सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
विष्फोटक पदार्थको ओसारपसार, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा चोरी–डकैती, लुटपाट, खाद्यान्न तथा उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी, म्याद गुज्रिएका वा मिसावटयुक्त सामग्रीको बिक्री, हुण्डी तथा नक्कली नोटको कारोबारलाई प्रहरीले मुख्य सुरक्षा चुनौतीका रूपमा लिएको छ ।
यात्रु सहायता र गस्ती बढाइयो
चाडपर्वको सुरक्षा व्यवस्थाका लागि करिब ५० हजार प्रहरी परिचालन गरिएको छ । देशभर ४०८ स्थानमा यात्रु सहायता कक्ष र अन्तर्राष्ट्रिय सीमा नाकामा १०८ सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट स्थापना गरी त्यहीँबाट सुरक्षा परिचालनको व्यवस्था मिलाइएको छ ।
यस अवधिमा पैदल, मोबाइल तथा ग्रामीण गस्ती बढाइनेछ । चेकप्वाइन्टमा चेकजाँच कडा पारिनेछ भने ट्राफिक प्रहरीसहितको संयुक्त जाँचको व्यवस्था गरिएको छ । सरकारी तथा महत्त्वपूर्ण संस्थान, कारागारलगायत संवेदनशील कार्यालयको सुरक्षा पनि मजबुत पारिएको प्रहरीले जनाएको छ ।
ड्रोन, सिसीटिभी र ‘बडीवन’ क्यामरालगायत प्रविधिको प्रयोग गरी सुरक्षा निगरानी बढाइनेछ । काठमाडौं उपत्यकासहित प्रमुख सहरका बजार, सपिङ मल, मार्ट, बैंक तथा वित्तीय संस्था र सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र ज्येष्ठ नागरिकमाथि हुन सक्ने हिंसामा शून्य सहनशीलताको नीति अपनाइएको प्रहरीले जनाएको छ ।
लामो दूरीका सवारीमा दुई चालक
चाडपर्वमा काठमाडौं उपत्यकाबाट लाखौँ यात्रु बाहिरिने अनुमानसँगै सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले विशेष योजना लागू गरेको छ । सवारी चालकको अनुमतिपत्र जाँच, लामो दूरीका सवारीमा दुई जना चालक अनिवार्य राख्ने व्यवस्था र सवारीको प्राविधिक अवस्थाको परीक्षणलाई कडाइका साथ लागू गरिने प्रहरीले जनाएको छ ।
सवारीमा क्षमताभन्दा बढी यात्रु राख्न नदिने र सबै सवारीसाधनले सात दिनभित्रको ‘मेकानिकल टेस्ट रिपोर्ट’ पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रहरीका अनुसार नेपालमा पहिलो पटक यस्तो रिपोर्ट अनिवार्य गर्न लागिएको हो । काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई दुःख दिने, हैरानी पार्ने, महँगोमा टिकट बिक्री गर्ने, कालोबजारी गर्ने तथा सिट नभएको टिकट जारी गर्ने प्रवृत्ति नियन्त्रणमा पनि प्रहरीले विशेष निगरानी गर्नेछ ।
प्रवक्ता काफ्लेले चाडपर्वमा नागरिकको सुरक्षा, सहज आवागमन र दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखिएको बताए। उनले विगतको तुलनामा अझ शान्त, सुरक्षित, व्यवस्थित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताए । प्रहरीले सुरक्षा व्यवस्थालाई सम्बन्धित प्रहरी प्रमुखको कार्यसम्पादनसँग जोडेको छ । जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी प्रमुखको कार्यसम्पादन मूल्याङ्कनमा चाडपर्व सुरक्षा व्यवस्थालाई समेत आधार बनाइने प्रहरीले जनाएको छ ।
चाडपर्वका समयमा हुन सक्ने विपद्का घटनामा तत्काल उद्धार तथा राहतका लागि प्रहरीले विशेष टोली तैनाथ गरेको छ ।विपद् व्यवस्थापन गुल्मका प्रहरी कर्मचारीलाई २४ घण्टा खोज, उद्धार, राहत तथा सुरक्षा कार्यका लागि तयारी अवस्थामा राखिएको प्रवक्ता काफ्लेले बताए ।

























