रामलाल गोल्छा आँखा अस्पताल: १९ लाखभन्दा बढीलाई सेवा

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार २१:२५
रामलाल गोल्छा आँखा अस्पताल: १९ लाखभन्दा बढीलाई सेवा

विराटनगर । रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन विराटनगरले स्थापना भएदेखि हालसम्म १ लाख ४२ हजार ५ सय जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको जनाएको छ । शल्यक्रिया गरिएकामध्ये ५२ प्रतिशतलाई निःशुल्क सेवा प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

विश्व दृष्टि दिवसको अवसरमा बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका उपाध्यक्ष श्याम पौडेलले सन् १९३० मा स्थापना भएको रामलाल गोल्छा आँखा अस्पताल पूर्वी नेपालकै पहिलो आँखा अस्पताल भएको जानकारी दिए ।

अस्पतालकी दृष्टि विशेषज्ञ संगीता ताजपुरियाका अनुसार अस्पतालले हालसम्म बहिरंग सेवामार्फत १९ लाखभन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको छ । अस्पतालले आँखासम्बन्धी विभिन्न रोगको उपचारसँगै आधुनिक शल्यक्रिया तथा अनुसन्धानका कामसमेत गर्दै आएको उनले बताइन् ।

अस्पतालका म्यानेजर नवीनचन्द्रसिंह राजवंशीका अनुसार अस्पतालबाट वार्षिक करिब ७० हजार बिरामीले उपचार सेवा लिने गरेका छन् । उनका अनुसार रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसनअन्तर्गत कोशी र मधेश प्रदेशमा गरी आठवटा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।

फाउन्डेसनले गरिब तथा विपन्न वर्गका बिरामीलाई लक्षित गरी निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको राजवंशीले बताए । उनका अनुसार फाउन्डेसनअन्तर्गत विराटनगर आँखा अस्पताल, मेची आँखा अस्पताल, डा. रामप्रसाद पोखरेल सामुदायिक आँखा अस्पताल र धनकुटा आँखा अस्पताललगायत प्रमुख सेवा केन्द्र सञ्चालनमा छन् ।

कोशी प्रदेशमा गरिएको राष्ट्रिय दृष्टिविहीनता सर्वेक्षण (आरएएबी) २०१८–२०२० अनुसार ५० वर्ष वा सोभन्दा माथिका ८ हजार ५९ जना विभिन्न कारणले दृष्टिविहीन रहेको अनुमान गरिएको छ । तीमध्ये ३ हजार २३८ जनाको दृष्टिविहीनताको प्रमुख कारण मोतियाविन्दु रहेको अनुमान गरिएको छ ।

विश्वभर हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ । आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइने यस वर्षको विश्व दृष्टि दिवसको नारा ‘आफ्ना आँखालाई माया गरौँ’ रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×