
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा भएको भनिएको ६६ लाख रूपैयाँ बढी आर्थिक अनियमिततामा अध्यक्षदेखि लेखापालसम्म तानिएका छन् ।
आर्थिक अनियमितताको अनुसन्धान टुंग्याउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सीआईबीले बुधबार अनुसन्धान प्रतिवेदन (मिसिल) सरकारी वकिलको कार्यालयमा बुझाउँदै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरेको हो ।
अनुसन्धानबाट ६६ लाख ५३ हजार रुपैयाँ बराबरको अनियमितता भएको निष्कर्ष निकालिएको सीआईबी स्रोतले जनाएको छ । खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा उनीहरुमाथि अनुसन्धान गरिएको थियो । महासचिव राई यसअघिदेखि नै एन्फासँग सम्बन्धित विवादमा मुछिदै आएका थिए ।
अनुसन्धानका क्रममा गत असोज २ गते सीआईबीले एन्फा मुख्यालयमा छापा मारेको थियो । त्यसक्रममा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे पक्राउ परेका थिए । उनीहरू पक्राउ परेपछि अध्यक्ष नेम्वाङ र महासचिव राई सम्पर्कमा नरहेको स्रोतको दाबी छ ।
एन्फाको आर्थिक तथा प्रशासनिक गतिविधिमा अनियमितता भएको भन्दै विभिन्न विषयमा उजुरी परेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । राष्ट्रिय हित र प्रतिष्ठाविपरीत हुने गरी ‘होम गेम’ बिक्री गरिएको, राष्ट्रिय खेलकुद परिषद्को निर्देशन बेवास्ता गर्दै भत्ता वितरण गरिएको तथा महिला साफ च्याम्पियनसिपका क्रममा होटलको दररेटमा कमिसन र भ्रष्टाचार गरिएको आरोप उजुरीमा समेटिएको थियो ।
त्यस्तै, स्वीकृतिबिनै वैदेशिक भ्रमण गरिएको, अनुदान रकमको दुरुपयोग भएको र आवश्यकता नरहे पनि नयाँ पद सिर्जना गरेर नियुक्ति गरिएको विषयमा समेत अनुसन्धान भएको थियो । सीआईबीले टेन्डर प्रक्रियामा कानुन मिचिएको तथा विभिन्न प्रतियोगिताका मार्केटिङ, डिजिटल, ब्रोडकास्टिङ र टिकटिङ अधिकार प्रदान गर्दा आर्थिक अनियमितता भएको आरोपमा पनि अनुसन्धान गरेको थियो ।
अब सरकारी वकिलको कार्यालयले सीआईबीको अनुसन्धान प्रतिवेदन अध्ययन गरी मुद्दा चलाउने वा नचलाउने विषयमा निर्णय गर्नेछ । यसैबीच, एन्फाको आन्तरिक विवाद र तेस्रो पक्षको हस्तक्षेपलाई लिएर अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले गत जुन २४ देखि एन्फालाई निलम्बनमा राखेको छ ।

























