कांग्रेसमा नेतृत्वको टुंगो लाग्दै, सभापतिमा खड्गी र थापाबीच प्रतिस्पर्धा

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २२, बिहीबार ०६:२१

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । १५औँ महाधिवेशनअन्तर्गत बिहान १० बजेदेखि सुरु हुने मतदानबाट कांग्रेसको आगामी केन्द्रीय कार्यसमितिको नेतृत्व तय हुनेछ ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । सभापति पदमा श्यामकृष्ण खड्गी र गगनकुमार थापाबीच प्रतिस्पर्धा हुँदैछ । सभापतिका अर्का प्रत्यासी किशोरसिंह राठौरले भने उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

खड्गीले समेत उम्मेदवारी फिर्ता लिन सक्ने चर्चा चले पनि उनले आफ्नो उम्मेदवारी कायमै रहेको स्पष्ट पारेका छन् । ‘मलाई वार्तामा बसौँ भनेर प्रस्ताव आएको हो । तर, मैले मानिनँ । मेरो उम्मेदवारी कायमै छ, कायमै रहन्छ,’ उनले भने ।

सभापतिपछि कांग्रेसमा प्रभावशाली मानिने महामन्त्री पदमा भने बहुपक्षीय प्रतिस्पर्धा देखिएको छ । खुलातर्फ दुई महामन्त्रीका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, नैनसिंह महर र डा. सुनीलकुमार शर्माबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

गत पुसमा भएको विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेल र घिमिरे सोही पदमा निरन्तरता पाउने प्रयासमा छन् । सहमहामन्त्री रहेका राणा महामन्त्रीमा बढुवा हुने लक्ष्यसहित मैदानमा छन् । लामो समयदेखि महामन्त्रीको तयारी गर्दै आएका महर पनि बलियो दाबेदारका रूपमा प्रस्तुत भएका छन् ।

नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै कांग्रेसको मूल राजनीतिमा आएका महर २०७८ सालको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अस्पताल सञ्चालकसमेत रहेका शर्मा पनि महामन्त्रीका उम्मेदवार छन् ।

महामन्त्री पदमा अमरसिंह पुन, शंकर तिवारी र सन्तोष उपाध्यायलगायतले पनि उम्मेदवारी दिएका छन् । उम्मेदवारको संख्या र प्रमुख दाबेदारबीचको प्रतिस्पर्धाका कारण महामन्त्रीको निर्वाचनलाई यसपटक विशेष चासोका साथ हेरिएको छ ।

उपसभापति पदमा पनि कांग्रेसका चर्चित नेताहरूबीच प्रतिस्पर्धा हुँदैछ । १४औँ महाधिवेशनबाट उपसभापति निर्वाचित धनराज गुरुङ यसपटक पनि मैदानमा छन् । डा. चन्द्र भण्डारी र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी रहेका डा. मीनेन्द्र रिजालले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

यसैगरी पूर्वसहमहामन्त्री फरमुल्लाह मन्सुर, जीवन परियार, केन्द्रीय सदस्यहरू विनोद चौधरी, दीपक गिरी, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराई, मधु आचार्य, सीता गुरुङ, देवराज चालिसे, रञ्जित कर्ण र डा. चन्द्रमोहन यादव उपसभापतिको दौडमा छन् ।

मतदानका लागि काठमाडौंमा तीन स्थानमा सात मतदान केन्द्र तोकिएका छन् । राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदानको व्यवस्था गरिएको छ ।

राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्चमा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र राखिएको छ । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट प्रतिनिधि बनेकाहरूले पनि खुलामञ्चबाटै मतदान गर्नेछन् ।

गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि भने प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ । सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले आफूलाई तोकिएको केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि वर्षा र केही प्राविधिक कारणले समय परिवर्तन गरिएको हो । अब बिहान १० बजेदेखि मतदान सुरु हुनेछ ।

मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिले मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ ।

मतदानसँगै कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको आगामी नेतृत्वको टुंगो लगाउनेछ । सभापतिदेखि उपसभापति र महामन्त्रीसम्मका लागि भएको प्रतिस्पर्धाको परिणामले कांग्रेसको आगामी राजनीतिक दिशा र शक्ति सन्तुलनसमेत निर्धारण गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×