
विराटनगर । चाडपर्वको समयमा विराटनगरको बजारमा आर्थिक गतिविधि बढाउँदै स्थानीय उत्पादन र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले ‘विराट ट्रेड फेयर’ (महोत्सव) सुरु भएको छ । विराट व्यापार संघको आयोजनामा विराटनगरस्थित जैन भवनमा सुरु भएको ट्रेड फेयरको कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले उद्घाटन गरे ।
ट्रेड फेयरको उद्घाटन गर्दै सभामुख विष्टले व्यापार मेला तथा प्रदर्शनीले स्थानीय उत्पादन, व्यवसाय र बजार प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए । स्थानीय बजारलाई बलियो बनाउन निजी क्षेत्र, व्यवसायी र सरकारबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले व्यापार क्षेत्रमा देखिएका समस्या समाधान गर्न राज्यको नीति थप प्रभावकारी र व्यवसायमैत्री बनाउनुपर्ने बताए । सीमावर्ती क्षेत्रका व्यवसायीले भोग्दै आएका समस्या समाधान नगरेसम्म स्थानीय बजारलाई प्रतिस्पर्धी बनाउन कठिन हुने उनले प्रस्टाए ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले खुला सीमा तथा नेपाल–भारतबीचको कर संरचनामा रहेको असमानताका कारण नेपाली उपभोक्ताको आकर्षण भारतीय बजार जोगबनीतर्फ बढिरहेको बताए । यसका लागि कर तथा भन्सार नीतिमा सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवालले चाडपर्वको समयमा विराटनगरको बजारमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्ने उद्देश्यले ट्रेड फेयर आयोजना गरिएको बताए । उनले फेयर अवधिमा करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको प्रत्यक्ष कारोबार हुने अनुमान गरिएको बताए ।
दसैँको किनमेल विराटनगरमै रोक्न सके स्थानीय बजारमा करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुनसक्ने अपेक्षा गरिएको छ । अध्यक्ष अग्रवालले उपभोक्तालाई स्वदेशमै किनमेल गर्न प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहता, प्रदेश योजना आयोगका अध्यक्ष तारानाथ निरौला, नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडालगायतले स्थानीय उत्पादनको प्रवर्द्धन, कर तथा भन्सार नीतिमा सुधार र व्यवसाय सञ्चालनको लागत घटाउनुपर्नेमा जोड दिए ।
उनीहरूले उपभोक्तालाई स्वदेशमै किनमेल गर्न प्रोत्साहित गर्ने नीतिसँगै स्थानीय बजार र व्यवसायीलाई प्रतिस्पर्धी बनाउन सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

























