
पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा हालसम्म १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये १६ जना अस्पताल पुगिसकेका छन् भने दुई जनालाई अस्पताल लैजाँदै गरिएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानले बताए ।
पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गरेको बस ओख्लेमा दुर्घटनामा परेको हो । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । अहिले प्रहरी र स्थानीयवासी मिलेर उद्धार कार्य गरिरहेका छन् । घाइते विद्यार्थीलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका अस्पतालमा पठाइएको पासवानले बताए ।
बसमा कति विद्यार्थी सवार थिए भन्ने यकिन विवरण आइनसकेको उनले जानकारी दिए । उद्धार कार्य जारी रहेकाले घटनाको विस्तृत विवरण सङ्कलन भइरहेको उनको भनाइ छ । दुर्घटनामा बस नराम्ररी क्षतिग्रस्त भएको छ । घाइते विद्यार्थीको अवस्थाबारे भने चिकित्सकले परीक्षण गरेपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ ।

























