
एजेन्सी । मेक्सिकोको सिनालोआ राज्यमा रहेको एक कारागारभित्र भएको हिंसात्मक झडपले ठूलो मानवीय क्षति निम्त्याएको छ । घटनामा नौ कैदी र एक आगन्तुकसहित १० जनाको मृत्यु भएको छ । अन्य १६ जना घाइते भएका छन् ।
बिहीबार कारागारभित्र सुरु भएको झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गर्नु परेको थियो । घटनाको गम्भीरतालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा गार्डसमेत खटाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।
सुरक्षाकर्मीको हस्तक्षेपपछि कारागारभित्रको अवस्था नियन्त्रणमा आएको छ । तर, कैदीहरूबीच झडप हुनुको कारणका बारेमा अधिकारीहरूले अहिलेसम्म स्पष्ट जानकारी दिएका छैनन् । घटनामा घाइते भएकाहरूको अवस्थाका बारेमा पनि विस्तृत विवरण सार्वजनिक भएको छैन ।
मेक्सिकोको सिनालोआ राज्य लामो समयदेखि लागुऔषध तस्करी र संगठित आपराधिक गतिविधिका कारण चर्चामा रहँदै आएको छ । कुख्यात सिनालोआ लागुऔषध तस्करी गिरोहको मुख्य आधार क्षेत्र मानिने यस राज्यमा सुरक्षा चुनौती गम्भीर छ ।
कारागारभित्रै भएको यस घटनाले कैदीको सुरक्षा र जेल प्रशासनको नियन्त्रण क्षमतामाथि प्रश्न उठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी अधिकारीहरुले दिएका छन् ।

























