
विराटनगर । सुरक्षा प्रयोजनबाहेक घरायसी तथा व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरेको पाइएमा कारबाही हुने भएको छ । गृह मन्त्रालयले कार्यविधिविपरीत खटाइएका व्यक्तिगत सुरक्षाकर्मीलाई सात दिनभित्र दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिँदै त्यस्तो कार्यबारे उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ विपरीत सुरक्षाकर्मी खटाउने र व्यक्तिगत काममा प्रयोग गर्ने प्रवृत्तिमाथि निगरानी बढाएको जनाएको छ । मन्त्रालयका अनुसार बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मीको व्यवस्था कार्यविधिअनुसार गरिएको भए पनि पछिल्लो समय सुरक्षाकर्मीलाई सुरक्षा जिम्मेवारीबाहेक घरायसी तथा अन्य व्यक्तिगत काममा प्रयोग गरिएको गुनासो प्राप्त भएको छ ।
यस्तो गुनासोपछि मन्त्रालयले असोज २२ गते बिहबिार सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिविपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मीलाई सात दिनभित्र अनिवार्य रूपमा दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएको हो । मन्त्रालयले उक्त निर्देशन र कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा त्यसका लागि जिम्मेवार सम्बन्धित अधिकृत तथा पदाधिकारीलाई कारबाही गरिने स्पष्ट पारेको छ ।
सुरक्षाकर्मीलाई गैरकानुनी रूपमा घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएको पाइएमा खटिएका सुरक्षाकर्मी वा सर्वसाधारणले गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा जानकारी दिन वा उजुरी गर्न सक्नेछन् । मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाउँदै कार्यविधिविपरीत सुरक्षाकर्मी प्रयोग गरिएको पाइएमा जानकारी गराउन आग्रह गरेका छन् ।
व्यक्तिगत सुरक्षाको नाममा सुरक्षाकर्मीलाई निर्धारित जिम्मेवारीभन्दा बाहिर प्रयोग गर्ने प्रवृत्तिमाथि नियन्त्रण गर्ने र उनीहरूलाई सम्बन्धित कार्यालयको दरबन्दीअनुसार परिचालन गर्ने उद्देश्य राखिएको जानकारी काफ्लेले दिए ।


























