
काठमाडौं । रसुवामा बाढीमा परी बेपत्ता भएकाहरूलाई मृतक घोषणा गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले ल्याएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिए ।
रसुवामा आएको बाढीमा परी बेपत्ता भएकाहरूको अवस्था लामो समयसम्म अज्ञात रहेपछि उनीहरूलाई मृतक घोषणा गर्ने कानुनी व्यवस्था मिलाउन सरकारले अध्यादेश ल्याएको हो । अध्यादेश जारी भएसँगै बाढीमा बेपत्ता भएकाहरूलाई मृतक घोषणा गर्ने प्रक्रियाका लागि कानुनी आधार तयार भएको छ ।

























