
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिएका छन् । शर्माले शुभकामना दिँदै पार्टी र देशलाई नयाँ गन्तव्यमा पुर्याउने जिम्मेवारी अब सुरु भएको बताए ।
शर्माले गगनको नेतृत्वलाई सफलताको अन्तिम बिन्दु नभई लामो राजनीतिक यात्राको सुरुवातका रूपमा व्याख्या गरेका छन् । उनले पार्टीभित्रका फरक मत र विचारलाई एकताबद्ध गर्दै विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन । हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाई’, शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले नेतृत्वको यात्रामा अनेक चुनौती आउने उल्लेख गर्दै तिनको सामना संयमका साथ गर्नुपर्ने बताएका छन् । पार्टीभित्र मत र मनबीचको दूरी घटाउँदै सबैलाई समेटेर अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको उनको सन्देश छ ।
शर्माले कांग्रेसको इतिहासप्रति इमानदार रहँदै विगतका गौरवलाई निरन्तरता दिनुपर्ने र कमजोरीलाई सच्याउनुपर्ने पनि बताए । देशको समुन्नतिलाई सम्भव तुल्याउन सकिने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि दृढ संकल्प र सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका छन् ।
गगनप्रति आफ्नो विश्वास र समर्थन रहेको स्पष्ट पार्दै शर्माले बलियो नेतृत्वका लागि शुभकामना दिएका छन् । ‘गगनलाई अपार विश्वास र दृढ साथसहित म उभिएको छु, हामी लामबद्ध छौँ’, उनले लेखेका छन्, ‘लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना ।’
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका हुन् । अन्य पदाधिकारीको मतगणना भने सुरु हुन बाँकी छ ।

























