नेपालमा पहिलोपटक स्वदेशमै उत्पादित कार-टी सेलबाट क्यान्सर उपचार

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार १०:००

काठमाडौं । । सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) ले नेपालमै विकसित र उत्पादित कार-टी सेलमार्फत एक क्यान्सर बिरामीको उपचार गरिएको जनाएको छ ।

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (रगतको क्यान्सरको एक प्रकार) को उपचार गराइरहेका बिरामीमा असोज ११ गते चिकित्सक टोलीले सेल चढाएको हो । बिरामी हाल स्वास्थ्यलाभ गरिरहेका र क्लिनिकल रूपमा स्थिर अवस्थामा रहेको जनाइएको छ ।

क्लिनिकल टोलीको नेतृत्व गरेका हेमाटो-अन्कोलोजिस्ट डा. अञ्जन श्रेष्ठका अनुसार रोग निको भयो कि भएन (रिमिसन) र उपचारको प्रभाव कति लामो समय टिक्छ भनेर आकलन गर्न टोलीले बिरामीको नजिकबाट निगरानी गरिरहेको छ ।

डा. प्रशुन उपाध्याय तथा अन्य सहकर्मीसँगको सहकार्यमा उपचार गरिरहेका डा. श्रेष्ठले यो उपचारले नेपालमा क्यान्सर उपचारमा नयाँ फड्को मारेको बताए । उनका अनुसार केही प्रकारका रगतको क्यान्सरको उपचारका लागि भारत र चीनमाथिको निर्भरता यसले घटाउँछ ।

केमोथेरापीपछि क्यान्सर पुनः फर्किएका (रिल्याप्स) वा केमोथेरापीले काम नगरेका अवस्थामा कार–टी उपचार विशेष उपयोगी हुनेमा उनले जोड दिए । ‘अमेरिका र बेलायतमा कार–टी सेल उपचार प्रयोगमा आएको झन्डै एक दशक भइसक्यो। तर नेपालजस्तो देशमा यति चाँडै यस्तो उन्नत उपचार पद्धति भित्रिएला भन्ने हामीले अपेक्षा गरेका थिएनौं,’ डा. श्रेष्ठले भने।

कार-टी सेल थेरापीमा बिरामीकै टी-सेल (रोग प्रतिरोधात्मक क्षमता दिने एक प्रकारको कोष) प्रयोग गरिन्छ । ती सेललाई जेनेटिक रूपमा परिमार्जन गरेर क्यान्सर कोषमा रहेको निश्चित लक्ष्य पहिचान गर्न सक्ने बनाइन्छ, प्रयोगशालामा संख्या बढाइन्छ र फेरि बिरामीकै शरीरमा चढाइन्छ । सीआरएम नेपालको उत्पादनले सीडी–१९ लाई लक्षित गर्छ, जुन केही प्रकारका रगतको क्यान्सरमा पाइने मार्कर हो ।

प्रारम्भिक नतिजा उत्साहजनक रहेको सीआरएम नेपालले जनाएको छ । ‘बिरामीको रगतमा कार–टी सेलको संख्या उत्साहजनक रूपमा बढेको र उपचारको प्रारम्भिक सकारात्मक असर देखिएको हामीले पाएका छौं । यसले उपचारप्रति सुरुवाती प्रतिक्रिया आशाजनक रहेको संकेत गर्छ,’ प्रमुख वैज्ञानिक डा. सञ्जीवन गौतमले भने । ‘नेपालमै विकसित पहिलो कार–टी सेल उपचारको यो उत्साहजनक सुरुवात हो ।’

डा. गौतमले सन् २०२२ देखि यो अभियानको नेतृत्व गर्दै आएका छन् । उनले वैज्ञानिक विशेषज्ञता, अनुदान रकम र अन्तर्राष्ट्रिय साझेदारलाई एकसाथ जोडेका थिए । उनले असल उत्पादन अभ्यास, मापदण्डअनुसारको प्रयोगशाला स्थापनाबारे मार्गदर्शन, प्रविधि हस्तान्तरण, उत्पादन तथा गुणस्तर नियन्त्रणको क्षमता विकास, जनशक्तिको तालिम र नियामकीय प्रक्रियामा सहयोग गरेका थिए । सीआरएम नेपालको प्रयोगशालामा उत्पादित सेल अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको उनले बताए ।

यस कार्यक्रम सन् २०२२ देखि २०२४ सम्म प्रिक्लिनिकल अनुसन्धानबाट सुरु भएको थियो । सन् २०२५ मा प्रयोगशालाले स्वीकृति पायो, जनशक्तिले तालिम लियो र उत्पादनको तयारी पूरा भयो । सन् २०२६ मा सीआरएम नेपालको सीडी–१९ कार-टी सेल उत्पादनले नेपालमा क्लिनिकल प्रयोगका लागि स्वीकृति पायो ।

सीआरएम नेपालको उत्पादन तथा प्रयोगशाला टोलीले स्थानीय प्लेटफर्म स्थापना र सञ्चालन गरेको हो । यो टोलीले प्रत्येक बिरामीका लागि छुट्टाछुट्टै उपचार तयार गर्ने र त्यसको मूल्यांकन गर्ने कठिन जिम्मेवारी निर्वाह गर्यो । डिकोड जेनोमिक्सले गुणस्तर विश्लेषणको क्षमता उपलब्ध गरायो र डा. गौतमसँग निकट रहेर स्थानीय दक्षता सुदृढ बनाउन भूमिका खेल्यो ।

प्राज्ञिक रणनीति तथा सम्पर्क-सहकार्यमा मार्गदर्शन गर्ने लिंकन विश्वविद्यालयका प्राध्यापक डा. ओम कुर्मीले उन्नत उपचार पद्धतिलाई नेपालको स्वास्थ्य तथा शैक्षिक प्रणालीमा एकीकृत गर्ने र जैविक औषधि अनुसन्धान तथा औषधि विकासको संस्कृति निर्माण गर्ने संस्थाको प्रतिबद्धता दोहोर्याए ।

सीआरएम नेपालको क्लिनिकल साझेदारी सुदृढ बनाउन काम गरेका डा. सुधांशु केसीले आर्थिक वा व्यावहारिक कारणले विदेश गएर उपचार गराउन नसक्ने बिरामीले पनि यस्ता उपचार पाउन सकून् भन्ने संस्थाको दीर्घकालीन लक्ष्य रहेको बताए । राष्ट्रिय स्तरका सहकार्य र दैनिक सञ्चालनको समन्वय गरेका जेनेटिसिस्ट बलराम गौतमले थप बिरामीसम्म पुग्न स्थानीय क्षमता विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

सेलुलर थेरापीका अग्रणी व्यक्तित्व तथा लाइब्निज इन्स्टिच्युट फर इम्युनोथेरापीका प्रा. लुका गाटिनोनी र रेगेन्सबर्ग विश्वविद्यालय मेडिकल सेन्टरका प्रा. लियो हान्समानले क्लिनिकल व्यवस्थापनबारे सुझाव उपलब्ध गराएका थिए । नियामकीय विशेषज्ञता डा. दिलिप शर्माले दिएका थिए भने सेल उत्पादनदेखि चढाउने प्रक्रियासम्म लजिस्टिक्सको समन्वय वेदानन्द पराजुलीले गरेका थिए ।

नेपालमै उत्पादन र उपचार सम्भव भएसँगै अब देशसँग स्थानीय रूपमा विकसित वैज्ञानिक विशेषज्ञता, तालिमप्राप्त जनशक्ति, उत्पादन पूर्वाधार र गुणस्तर विश्लेषणको क्षमता भइसकेको प्रमुख वैज्ञानिक डा. गौतमले बताए । यसले उन्नत सेल थेरापीको थप विकासमा सहयोग पुग्ने उनको भनाइ छ ।

सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल अनुसन्धान, उत्पादन, गुणस्तर मूल्यांकन, जनशक्ति तालिम र क्लिनिकल सहकार्यमार्फत उन्नत सेल थेरापी र इम्युनो-अन्कोलोजीमा स्थानीय क्षमता विकास गर्ने संस्था हो । नेपाल र विदेशमा रहेका नेपाली विशेषज्ञको नेतृत्वमा सञ्चालित यसको ध्येय नेपाल र त्योभन्दा बाहिरका बिरामीसम्म उन्नत उपचार पुर्याउनु हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×