गन्तव्य-अगन्तव्य

Share this
723shares
मुलुकी खबर
विनयी विस्मय
clock२०८३ आश्विन २४, शनिबार १३:३०

महाशून्यको गर्भमा
मायाको अनादि र अनन्तता

अनायासै होइन,
आजसम्म आँट नगरेकै कारण
एउटा प्रश्नले जन्म लिन्छ-
कहाँ पुग्नु छ मलाई?

कसले सोध्यो यो प्रश्न?
म स्वयंले?
कि मभित्र
अनादिदेखि आफ्नै गन्तव्य खोज्दै
हिँडिरहेको कुनै अदृश्य यात्रीले?

म हिँडिरहेँ
पहाड पार गर्दै,
नदी तर्दै,
आकाशका नीलाभ पर्दाहरू चिर्दै,
मन्दिरका घण्टीहरूमा ईश्वर खोज्दै,
शास्त्रका पानाहरूमा
अक्षरको पछाडि लुकेको अक्षरातीत सत्य खोज्दै।

तर जति टाढा गएँ,
उति नै नजिक आइपुग्यो म।
र एक दिन थाहा भयो-
म जहाँ पुग्न खोजिरहेको थिएँ,
त्यहाँबाट म कहिल्यै हिँडेकै रहिनछु।

बुद्धले भने-
सबै कुरा क्षणभंगुर छ।

मैले फूललाई हेरेँ।
फूल फुल्यो,
सुगन्धित भयो,
ओइलायो,
झर्‍यो।

तर फूल कहाँ गयो?
हावामा?
माटोमा?
स्मृतिमा?

फूल कहिल्यै ‘फूल’ थियो नै कहाँ?
त्यो त फूल नामले
अस्तित्व खुम्चिएको
एउटा सृष्टि थियो कि?

एउटा बीउ,
एउटा माटो,
एउटा पानी,
एउटा घाम,
एउटा ऋतु,
एउटा समय-
यी सबैको क्षणिक मिलनलाई
मैले जान्ने पल्टिएर
‘फूल’ नाम दिएको रहेछु।
(मान्छेको पछुतो)

अनि आफूलाई पनि त्यस्तै एउटा नाम दिएँ-
‘म’।

शरीरलाई ‘म’ भनेँ,
विचारलाई ‘म’ भनेँ,
स्मृतिलाई ‘म’ भनेँ,
इच्छालाई ‘म’ भनेँ।

तर जब एक–एक गरेर
सबैलाई हेर्न थालेँ,
‘म’ कुनै एउटा ठाउँमा भेटिएन।

बुद्ध मुस्कुराए।

सायद अनात्मा भनेको
‘म छैन’ भन्नु होइन रहेछ।
सायद अनात्मा भनेको
‘म’ भन्नु,
छुन खोजेको कुनै स्थायी वस्तु छैन भन्नु रहेछ।

नागार्जुन आए।
उनले शून्य देखाए।

म डराएँ।
शून्य?
अर्थात् केही पनि छैन?

उनी फेरि मुस्कुराए।

शून्यलाई ‘केही पनि छैन’ भन्नु
शून्यलाई एउटा वस्तु बनाउनु हो।

शून्यता रिक्तता होइन,
त्यो त स्वतन्त्र स्वभावको अभाव हो।
वस्तु आफ्नै बलले उभिएको छैन।
सबै कुरा सबैसँग जोडिएको छ।

फूल फूल मात्र होइन।
फूलमा माटो छ।
पानी छ।
सूर्य छ।
बादल छ।
हावा छ।
ऋतु छ।
र अनगिन्ती अदृश्य कारणहरूको
निःशब्द इतिहास छ।

त्यसैले फूललाई छुट्टै अस्तित्व खोज्नु भ्रम हो।

अनि मलाई?
म पनि सम्बन्धहरूको एउटा अस्थायी लहर हुँ।
एउटा नाम।
एउटा कथा।
एउटा क्षण।

त्यसपछि ओशो आए।
उहाँले कुनै नयाँ बाटो देखाउनुभएन,
बरु बाटोमै प्रश्न गर्नुभयो-
किन हिँडिरहेका छौ?

मैले भनेँ,
गन्तव्यमा पुग्न।

उहाँ हाँस्नुभयो।
‘गन्तव्य?’
फेरि सोध्नुभयो,
कहाँ छ त्यो?

मैले आकाशतिर देखाएँ।
उहाँले आँखा बन्द गर्नुभयो।

मैले हिमालतिर देखाएँ।
उहाँले सासभित्र हेर्नुभयो।

मैले भविष्यतिर देखाएँ।
उहाँले भन्नुभयो-
अहिले।

म चकित भएँ।
अहिले?
यही क्षण?

तर यही क्षण त एकछिनपछि अतीत भइहाल्छ।

उहाँले मुस्कुराएर भनेझैँ लाग्यो-
त्यसैले त तिमीले कहिल्यै अहिलेलाई देख्न सकेनौ।
तिमी सधैँ पुग्न खोज्यौ,
तर जीवन कहिल्यै ‘पुग्ने’ कुरा थिएन।
जीवन त सधैँ घटिरहेको
एउटा भूलभुलैया थियो।

ध्यानमा एक दिन विचारहरू थाकेर बसे।
स्मृतिहरू केहीबेर मौन भए।
इच्छाहरूले आफ्ना आवाजहरू बिर्सिए।
‘म’ केही क्षणका लागि
आफ्नै परिचयबाट बाहिर निस्कियो।

जागरण थिएन,
स्वप्न थिएन,
सुषुप्ति पनि थिएन।
तर कुनै गहिरो साक्षीझैँ
मौन सबैको पछाडि उभिइरहेको थियो।

उपनिषद्हरूले सायद
त्यहीँ ‘तुरीय’को सङ्केत गरेका थिए।

तर मैले त्यसलाई समात्न खोजेँ
र त्यो हरायो।
मैले नाम दिन खोजेँ,
त्यो नामभन्दा बाहिर गयो।

मैले भनेँ, ‘यही हो!’
र ‘यही’ भन्ने शब्दसँगै
त्यो फेरि अदृश्य भयो।

सायद तुरीयलाई अवस्था भन्नु पनि अधुरो हो,
किनकि अवस्था भनेपछि
त्यसको सुरु हुन्छ,
अन्त हुन्छ।

तर जो सबै अवस्थाहरूलाई देखिरहेको छ,
त्यसको सुरु कहाँ?
अन्त कहाँ?

त्यसैले मैले सोधेँ-
के यही महाशून्य हो?

उत्तर आएन,
किनकि ‘महाशून्य’ भन्नेबित्तिकै मैले
त्यसलाई पनि एउटा नाम दिइसकेको थिएँ।

‘महाप्रकाश’ भनेँ,
प्रकाशको कल्पना भयो।

‘ब्रह्म’ भनेँ,
अवधारणा भयो।

‘ईश्वर’ भनेँ,
आकृति भयो।

‘शून्य’ भनेँ,
रिक्तताको छाया आयो।

सायद अन्तिम सत्य
यी सबै नामहरू जन्मिनुअघिको मौनता हो।

तर पश्चिमले अर्को प्रश्न गर्‍यो-
यदि अस्तित्वको कुनै पूर्वनिर्धारित अर्थ छैन भने
मानिस किन बाँच्ने?

सार्त्रले अर्थ आकाशबाट झर्दैन भने।
कामुले अर्थहीन ब्रह्माण्डको अगाडि
मानिसको विद्रोही हाँसो देखाए।
हाइडेगरले ‘हुनु’को रहस्यमा
मानिसलाई फेरि फ्याँकिदिए।
नीत्सेले पुराना निश्चितताका देवताहरूलाई
आफ्नै प्रश्नहरूले ढालिदिए।

पूर्वले भन्यो-
स्वभाव खोज्दा शून्यता भेटिन्छ।

पश्चिमले भन्यो-
अर्थ खोज्दा मौनता भेटिन सक्छ।

दुवैले आ-आफ्नो दिशाबाट
एउटै अँध्यारो ढोकामा ढकढकाए।
तर ढोका खुलेन।

सायद ढोका थिएन नै।

त्यसपछि मलाई लाग्यो-
सायद हामी सबै
एउटै विराट भूलभुलैयाका यात्री हौँ।

धर्म एउटा बाटो,
दर्शन अर्को बाटो,
विज्ञान अर्को बाटो,
प्रेम अर्को बाटो,
कविता अर्को बाटो,
ध्यान अर्को बाटो।

तर भूलभुलैयाको अन्तिम भित्तामा
लेखिएको भेट्टाएँ-
‘तिमीले खोजेको बाटो तिमी आफैँ हौ।’

म रोकिएँ।
तर ‘म’ कहाँ थिएँ?

त्यो म हुनुको खेल खोज्न थालेँ
र फेरि हराएँ।

सायद यही नै होला लीला।

अस्तित्व आफ्नै आँखाबाट
आफूलाई हेर्न ‘म’ बन्यो,
आफ्नै मौन सुन्न शब्द बन्यो,
आफ्नै अनन्तता बुझ्न समय बन्यो,
आफ्नै एकत्व अनुभव गर्न असङ्ख्य भयो।

एकबाट दुई भयो,
दुईबाट अनन्त भयो,
अनि अनन्तले एकलाई खोज्न थाल्यो।

कस्तो अद्भुत खेल!

सागर छाल बनेर
आफैँलाई खोजिरहेको छ।
आकाश बादल बनेर
आफ्नै विस्तार खोजिरहेको छ।
शून्य ब्रह्माण्ड बनेर
आफ्नै पूर्णता खोजिरहेको छ।

अनि म-
त्यही खेलको एउटा क्षणिक पात्र।

त्यसैले अब मलाई
मायादेखि डर लाग्दैन।

माया भ्रम हो भने
पनि त्यही भ्रमभित्र
जागरणको सम्भावना छ।

भूलभुलैया भ्रम हो भने पनि
त्यहीँ खोजको आनन्द छ।

जीवन यदि सपना हो भने,
सपनाले पनि
आफ्नै समयमा साँचो भएर बाँच्नुपर्छ।

मृत्यु यदि अन्त हो भने,
अन्तलाई पनि
पूर्ण मौन भएर स्वीकार गर्नुपर्छ।

यदि मृत्यु पनि अर्को ढोका मात्र हो भने,
ढोकापारि के छ भनेर
अहिले नै किन चिन्ता गर्ने?

अब मलाई गन्तव्य चाहिँदैन,
तर यात्रा चाहिन्छ।

मलाई अन्तिम उत्तर चाहिँदैन,
तर प्रश्नसँग प्रेम छ।

मलाई स्वर्ग चाहिँदैन,
नरकसँग पनि डर छैन।

मलाई ‘म को हुँ?’
भन्ने प्रश्न नै पर्याप्त छ,
किनकि यो प्रश्न जति गहिरो हुन्छ,
‘म’ उति नै पातलो हुँदै जान्छ।

र एक दिन
सायद प्रश्न मात्र बाँकी रहन्छ।
प्रश्न पनि हराउँछ।

अनि उत्तर?
उत्तर पनि आवश्यक पर्दैन।

त्यहाँ न गन्तव्य हुन्छ,
न अगन्तव्य।
न यात्रा हुन्छ,
न यात्री।
न प्राप्ति,
न अप्राप्ति।
न शून्य,
न पूर्ण।

केवल
एक अवर्णनीय हुनु।

तर त्यही मौनको छेउबाट
फेरि एउटा फूल फुल्छ,
एउटा बच्चा हाँस्छ,
एउटा चरा
निर्बन्ध आकाशसँग ठोकिन्छ
र त्यतै गन्तव्यको खोजीमा
एउटा गन्तव्यहीन गन्तव्य बन्छ।

एउटा नदी
ढुङ्गासँग ठोक्किएर गीत गाउँछ।
मानिस प्रेम गर्छ,
मानिस लड्छ,
मानिस फेरि उठ्छ
र अस्तित्व आफ्नै रहस्यभित्र फेरि
नयाँ अध्याय खोल्छ।

त्यसैले सायद शून्य अन्त्य होइन,
शून्य त अनन्त सम्भावनाको गर्भ हो।

अगन्तव्य भ्रम होइन,
यात्रालाई यात्रा बनाउने अदृश्य आकाश हो।

र गन्तव्य?
गन्तव्य सायद
हामीले बाटोमा
आफैँले राखेको एउटा सुन्दर नाम मात्र हो।

अब म हिँडिरहेको छु।
अहँ, थाहा छैन-
कहाँ, किन, कसलाई?

तर हावा चलिरहेको छ,
आकाश खुलिरहेको छ,
सास चलिरहेको छ,
मुटु चलिरहेको छ।

र कुनै अनाम प्रकाश
मभित्रबाट मलाई नै हेरिरहेको छ।

सायद त्यही हो
गन्तव्य।
सायद त्यही हो
अगन्तव्य।
सायद दुवै होइनन्।
सायद दुवै हुन्।

र यी दुई शब्दको बीचमा
जो मौन मुस्कुराइरहेको छ,
त्यही नै महाशून्यको महाप्रकाश,
त्यही नै अस्तित्वको अनन्त लीला।

र सायद
हामी त्यस लीलालाई खोजिरहेका छैनौँ,
लीलाले नै हामीलाई
खोजिरहेको छ।

नेताले चुनावमा जनता खोजे जस्तै।

बस्…।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×