
एजेन्सी । मध्य अमेरिकी देश पानामामा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पले जनजीवन प्रभावित बनाएको छ । भूकम्पका कारण विभिन्न प्रान्तमा भवन, होटल, सडक र पुलमा क्षति पुगेको छ भने राजधानी पानामा सिटीका अग्ला भवनसमेत हल्लिएका छन् । केही स्थानमा संरचना भत्किए पनि अहिलेसम्म मानवीय क्षतिको पुष्टि भएको छैन ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीए)का अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५६ बजे भूकम्प गएको थियो । राजधानी पानामा सिटीबाट केही घण्टाको दूरीमा रहेको अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट करिब ९ माइल दक्षिणपश्चिममा यसको केन्द्रबिन्दु रहेको थियो ।
मुख्य भूकम्पपछि अर्को शक्तिशाली परकम्पसमेत गएको छ । दिउँसो ४ः२५ बजे गएको परकम्पको प्रारम्भिक तीव्रता ६.९ म्याग्निच्युड मापन गरिएको थियो । भूगर्भविद्हरूले थप परकम्प आउन सक्ने भएकाले प्रभावित क्षेत्रमा सतर्कता आवश्यक रहेको बताएका छन् ।
भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको तटीय सहर एल भेनाओमा एल सिटियो होटल भत्किएको छ । होटलमा क्षति पुगे पनि मानवीय क्षति नभएको स्थानीय अधिकारीहरूले बताएका छन् । आसपासका घरमा चिरा परेको र एउटा पुलमा क्षति पुगेको छ । विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको जनाइएको छ ।
स्थानीय मेयर बाटिस्टाले पानामाको टेलिभिजन च्यानल टेलिमेट्रोलाई अहिलेसम्म कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको बताएका छन् । पानामाको राष्ट्रिय नागरिक सुरक्षा निकायका अनुसार कोक्ले, लस सान्तोस र पानामा प्रान्तमा भूकम्पले बढी असर पारेको छ । सरकारी कार्यालय, चर्च, होटल, पानी प्रशोधन केन्द्र तथा सडक संरचनामा क्षति पुगेको छ । भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको छ भने घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य केन्द्रमा पुर्याइएको छ ।
पेनोनोमे सहरमा करिब एक दर्जन संरचना भत्किएको अधिकारीहरूले बताएका छन् । अगुआदुल्सेमा पनि छवटा भवनमा उल्लेख्य क्षति पुगेको छ । पेनोनोमेमा रहेको डोस कोन्टिनेन्टेस होटलको एक भाग भत्किएर पार्किङमा राखिएका सवारीसाधनमाथि खसेको दृश्य सार्वजनिक भएको छ ।
कोक्ले प्रान्तका वरिष्ठ प्रहरी अधिकारी जर्ज सान्चेजका अनुसार गभर्नरको कार्यालय र एउटा क्याथेड्रलमा समेत क्षति पुगेको छ । प्रभावित क्षेत्रमा भवनको अवस्था र अन्य संरचनाको सुरक्षाबारे निरीक्षण भइरहेको छ ।
भूकम्पको धक्का राजधानी पानामा सिटीसम्म पुगेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भवनहरू हल्लिएपछि मानिसहरू सडकमा निस्किएको देखिन्छ । करिब २० लाख जनसंख्या रहेको राजधानीको मुख्य सहरी क्षेत्रमा भने ठूलो क्षति नभएको स्थानीय प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन् । अग्ला भवनका छतमा रहेका पौडी पोखरीबाट पानी सडकमा खसेको दृश्य पनि सार्वजनिक भएको छ ।
भूकम्पपछि देशको प्रमुख टोचुमेन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा अस्थायी रूपमा रोकिएको थियो । सुरक्षाका लागि यात्रुहरूलाई बाहिर निकालेर संरचनाको निरीक्षण गरिएको थियो । विमानस्थल प्रशासनका अनुसार करिब दुई घण्टापछि उडान सेवा पुनः सञ्चालन गरिएको छ ।
अन्तर्राष्ट्रिय समुद्री व्यापारको महत्त्वपूर्ण मार्ग पानामा नहरमा भने भूकम्पपछि पनि नियमित सञ्चालन जारी रहेको नहर प्राधिकरणले जनाएको छ । पानामास्थित अमेरिकी दूतावासले पनि आफ्ना कर्मचारी वा दूतावासमा कार्यरत व्यक्तिहरू घाइते भएको प्रारम्भिक विवरण प्राप्त नभएको बताएको छ ।
यूएसजीएसकी भूकम्पविद् सुसान हफका अनुसार प्रारम्भिक विश्लेषणले भूकम्प ठूलो सुनामी उत्पन्न गराउन सक्ने सबडक्शन जोनमा नभई जमिनमुनिको उथलो भागमा मुख्यतः तेर्सो चालका कारण उत्पन्न भएको देखाएको छ । भूकम्पको केन्द्र सतह नजिक भएकाले आसपासका क्षेत्रमा तीव्र कम्पन महसुस भएको उनको भनाइ छ ।
सामान्यतया पृथ्वीको सतहबाट ७० किलोमिटरभन्दा कम गहिराइमा उत्पत्ति हुने भूकम्पलाई उथलो भूकम्प भनिन्छ । यस्ता भूकम्पले केन्द्रबिन्दु नजिकका क्षेत्रमा तीव्र कम्पन गराउन सक्छन् ।

























