राष्ट्रिय खेलकुदमा कोशीको पदक लक्ष्य : ९ हजार बढी खेलाडी छनोटमा, ६५६ जनाले प्रदेशको प्रतिनिधित्व गर्ने

Share this
752shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ आश्विन २४, शनिबार १३:०९

विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी हुने खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी हुँदैछन् । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धेरैभन्दा धेरै पदक जित्ने लक्ष्यसहित प्रदेशका १४ वटै जिल्लाबाट खेलाडी छनोट थालिएको हो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका अनुसार राष्ट्रिय खेलकुदमा सहभागी हुन इच्छुक ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएका छन् । तीमध्ये ३ हजार ७६५ महिला र ५ हजार ५४५ पुरुष खेलाडी छन् । प्रदेशभरिबाट दर्ता भएका खेलाडीमध्ये प्रतिस्पर्धाका विभिन्न चरण पार गरेर ६५६ जनालाई राष्ट्रिय प्रतियोगितामा सहभागी गराइनेछ ।

बोर्डका अधिकृत विनोद पाण्डेका अनुसार बोर्डद्वारा असोज ७ गते जारी सूचनामार्फत असोज १९ गतेसम्म सम्बन्धित जिल्लामा आफू सहभागी हुन इच्छुक खेलका लागि फारम भर्न खेलाडीलाई आह्वान गरिएको थियो । सोही अवधिमा १४ वटै जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएको जानकारी पाण्डेले दिए ।

उनका अनुसार जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै खेलाडी मोरङबाट दर्ता भएका छन् । मोरङबाट ४६० महिला र ८२० पुरुष गरी १ हजार २८० खेलाडीले फारम भरेका छन् । दोस्रोमा उदयपुरबाट १ हजार ९९ र तेस्रोमा खोटाङबाट ९९७ खेलाडी दर्ता भएका छन् । पाँचथरबाट ८८१, संखुवासभाबाट ८१५ र झापाबाट ७५६ खेलाडीले नाम दर्ता गराएको पाण्डेले बताए ।

त्यस्तै, भोजपुरबाट ६१०, इलामबाट ६०८, ओखलढुंगाबाट ५२०, ताप्लेजुङबाट ५१२, सुनसरीबाट ५०९, धनकुटाबाट ३२५, सोलुखुम्बुबाट २८६ र तेह्रथुमबाट ११२ खेलाडी दर्ता भएको जानकारी उनले दिए । उनका अनुसार दर्ता भएका खेलाडीले अब जिल्लास्तरीय छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नुपर्नेछ । असोज २३ गते शुक्रबारदेखि संखुवासभाबाट जिल्लास्तरीय छनोट सुरु भएको जानकारी पाण्डेले दिए । असोज २९ गतेसम्म सबै जिल्लाले छनोट प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने उनको भनाइ छ ।

जिल्लास्तरबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । बोर्डले प्रदेशस्तरीय छनोट कात्तिक १२ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । कात्तिक २१ गतेसम्म छनोट सम्पन्न गरी राष्ट्रिय प्रतियोगिताका लागि ३४४ पुरुष र ३१२ महिला गरी ६५६ खेलाडीको अन्तिम टोली तयार पारिने पाण्डेले बताए ।

बोर्डका सदस्यसचिव विप्लव घोषका अनुसार छनोटबाट राष्ट्रिय प्रतियोगिताका लागि योग्य ठहरिएका खेलाडीलाई मंसिर १ गतेदेखि बन्द प्रशिक्षणमा राखिनेछ । निष्पक्ष र धाँधलीरहित छनोट प्रक्रियामार्फत उत्कृष्ट खेलाडी पहिचान गरी पदक जित्ने सम्भावना भएका खेलाडीलाई विशेष तयारी गराउने बोर्डको योजना रहेको घोषले बताए ।

‘धेरैभन्दा धेरै पदक प्राप्त गर्ने लक्ष्यका साथ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिनेछ । यसपटकको राष्ट्रिय प्रतियोगितामा कोशीले राम्रै प्रदर्शन गर्ने अपेक्षा गरेका छौँ । त्यही भएर खेलाडी छनोटदेखि व्यवस्थापनका अन्य पाटोलाई महत्व दिएर काम अघि बढाइएको छ,’ उनी भन्छन् ।

पदक जित्नेलाई दुई लाखसम्म पुरस्कार

कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ । बोर्डको ३६औँ बैठकले स्वर्ण पदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई एक लाख र कास्य पदक विजेतालाई ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

खेलाडीलाई प्रतियोगिता सकिएपछि एकपटक पुरस्कार दिएर मात्र नछाड्ने उद्देश्यले स्वर्ण पदक विजेतालाई मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने तयारीसमेत बोर्डले गरेको छ । खेलाडीलाई खेल जीवनमा निरन्तर सक्रिय राख्न तथा उनीहरूको क्षमता विकासमा सहयोग पुर्‍याउन यस्तो व्यवस्था गर्न लागिएको घोषले बताए ।

‘पदक जित्ने खेलाडीलाई प्रतियोगितापछि पनि खेलमै सक्रिय राख्न आवश्यक छ । त्यसका लागि मासिक प्रोत्साहन र अन्य सुविधाका विषयमा पनि अध्ययन भइरहेको छ,’ उनले भने । उनका अनुसार बोर्डले पदक विजेतालाई पुरस्कार र प्रोत्साहन भत्ता उपलब्ध गरानेछ । खेलाडी उत्पादनलाई प्रतियोगितामा सहभागितामा मात्र सीमित नराखी नियमित प्रशिक्षण, प्रतिस्पर्धाको अवसर र दीर्घकालीन प्रोत्साहनसँग जोड्ने बोर्डको नीति रहेको जानकारी सदस्यसचिव घोषले दिए ।

३२ खेलमा सहभागिता, ७८२ जनाको टोली

कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ वटा खेल समावेश छन् । कोशी प्रदेशले सबै खेलमा सहभागिता जनाउने तयारी गरेको सदस्यसचिव घोषले बताए ।

राष्ट्रिय प्रतियोगितामा कोशीबाट ३४४ पुरुष र ३१२ महिला खेलाडी सहभागी हुनेछन् । खेलाडी, प्रशिक्षक र अफिसियलसहित प्रदेशको कुल सहभागिता ७८२ जनाको हुनेछ । टोलीमा ८१ जना प्रशिक्षक र ४० जना अफिसियल रहनेछन् ।

खेलाडी छनोट तथा प्रतियोगिताको तयारीलाई व्यवस्थित बनाउन बोर्डले प्रादेशिक रंगशालामा दशौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताको सचिवालय स्थापना गरेको छ । दसैँपछि अस्थायी तथा स्थायी प्रशिक्षक र स्वयंसेवकलाई सहभागी गराएर ‘रिफ्रेसमेन्ट कोर्स’ सञ्चालन गर्ने तयारी पनि गरिएको छ ।

प्रदेशको खेलकुद स्तर सुधार गर्न नियमित प्रशिक्षण, प्राविधिक अनुभव आदानप्रदान र खेलाडीको दीर्घकालीन विकासमा जोड दिइने बोर्डले जनाएको छ । छनोट प्रक्रियादेखि बन्द प्रशिक्षण र प्रतियोगिताको व्यवस्थापनसम्मका कामलाई प्रभावकारी बनाएर राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको पदक संख्या बढाउने लक्ष्य राखिएको सदस्यसचिव घोषको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×