दिल्लीमा प्रदर्शनअघि प्रहरीको धरपकड तीव्र, सीजेपीका संस्थापकसहित सयौँ नियन्त्रणमा

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २४, शनिबार १२:५४

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा विरोध प्रदर्शन हुनुअघि प्रहरीले धरपकड तीव्र पारेको छ । कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेसहित पार्टीका नेता तथा समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मुम्बईबाट शनिबार बिहान विमानमार्फत दिल्ली पुगेका दीपकेलाई विमानस्थलबाटै पक्राउ गरिएको हो । उनीसँगै आशुतोष रान्का र सौरभ दास पनि प्रहरी नियन्त्रणमा परेका छन् । दीपकेलाई विमानभित्रै नियन्त्रणमा लिने क्रममा उनी र दिल्ली प्रहरीका अधिकारीहरूबीच भनाभनसमेत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रदर्शनमा सहभागी हुन दिल्ली आएका सीजेपी समर्थकमाथि प्रहरीले व्यापक धरपकड गरेको छ । पार्टीका अनुसार शुक्रबार रातिदेखि शनिबार बिहानसम्म ६०० भन्दा बढी समर्थकलाई नियन्त्रणमा लिइएको छ । चर्चित युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामस्थित निवासबाट बिहानै पक्राउ गरिएको पार्टीले जनाएको छ ।

सीजेपीले यसलाई शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी हुन र नेतृत्व गर्न नदिने उद्देश्यले सरकारले चालेको अधिनायकवादी कदमको संज्ञा दिएको छ । पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया स्थगित गर्न माग गर्दै शनिबार जन्तर–मन्तरमा प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रदर्शनलाई लक्षित गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक बल परिचालन गरिएको छ । राजधानीका सीमानाका, रेलवे स्टेसन, बस टर्मिनल र अन्य संवेदनशील क्षेत्रमा निगरानी बढाइएको छ ।

यसैबीच, दिल्ली मेट्रोका ४५ वटा स्टेसनमा आवतजावतमा रोक लगाइएको छ । प्रदर्शनस्थलमा पुग्ने सम्भावित सहभागीलाई रोक्ने प्रयास भइरहेको सीजेपीको आरोप छ ।

दिल्ली उड्नुअघि दीपकेले सामाजिक सञ्जालमा लेखेका थिए, ‘जीवन जिउने दुईवटा मात्र तरिका छन् । एउटा– जे भइरहेको छ, त्यसै हुन दिने र सहँदै जाने । अर्को– तिनलाई परिवर्तन गर्ने जिम्मेवारी लिने ।’ प्रदर्शन सुरु हुनुअघि नै पार्टीका संस्थापक तथा समर्थकहरू पक्राउ परेपछि दिल्लीमा राजनीतिक तनाव बढेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×