डिजिटल दक्षिणाको चलन, नयाँ नोटको मोह उस्तै

Share this
677shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ आश्विन २५, आइतबार १५:०८

विराटनगर । दसैँ आउनै लाग्दा विराटनगरको बैंक रोड र मेनरोड क्षेत्रका बैंक अगाडि हरेक वर्ष उस्तै दृश्य देखिन्छ । नयाँ नोट साट्न घण्टौँसम्म लाइनमा बसेका सर्वसाधारण ।

विराटनगर–३, पोखरियाका ६५ वर्षीय कमलप्रसाद भट्टराई पनि त्यही लाइनमा भेटिए । उनीसँग अत्याधुनिक स्मार्टफोन छ, घरमा वाइफाइ छ । नाति–नातिनाले क्यूआर कोड स्क्यान गरेर सामान किनेको उनी दिनहुँ देख्छन् । तर, दसैँको संघारमा भने उनी नयाँ नोट साट्न बैंकमा पालो कुरिरहेका छन् ।

नाति–नातिनाले अनलाइनबाटै कारोबार गर्छन् । तर, दसैँमा रातो अक्षतासँगै हातमा कडकडिएको नयाँ नोट थमाउँदा उनीहरूको अनुहारमा देखिने चमक मोबाइलको स्क्रिनमा ‘सफलतापूर्वक ट्रान्सफर भयो’ भन्ने सन्देशमा कहाँ पाइन्छ र ! कमलप्रसाद मुस्कुराउँदै भन्छन्, ‘दक्षिणा भनेको केवल पैसा मात्र होइन, ठूलाको हातले दिएको आशीर्वाद पनि हो ।’

पछिल्लो समय नेपालमा डिजिटल बैंकिङ र क्यूआर कोडको प्रयोग बढ्दै गएको छ । विराटनगरका हाटबजार, मल र पसलदेखि चियापसलसम्म क्यूआर कोड राखिएको देखिन्छ । यसको प्रभावस्वरूप युवापुस्तामाझ दसैँमा टाढा रहेका वा विदेशमा बस्ने आफन्तबाट अनलाइनमार्फत दक्षिणा लिने–दिने चलन पनि बढ्न थालेको छ ।

विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २० वर्षीया सृष्टि श्रेष्ठ प्रविधिले दिएको सहजतालाई स्वीकार गर्छिन् । विदेश वा काठमाडौंमा रहेका आफन्त दसैँमा घर आउन नसक्दा वालेट वा क्यूआरमार्फत दक्षिणा पठाउने गरेको उनी बताउँछिन् । यसले दूरीमा रहे पनि चाडपर्वको सम्झना ताजा गराउने उनको अनुभव छ ।

‘तर, घरमै सँगै बसेर टीका लगाउँदा भने हातमै नोट थाप्नुको रमाइलो अर्कै हुन्छ । त्यो बेला पाउने नयाँ नोटको छुट्टै बासना र अनुभूति विशेष हुन्छ,’ सृष्टि भन्छिन् ।

प्रविधिले जनजीवन सहज बनाएको छ। चाडपर्वका बेला बैंकमा लामो लाइन बस्नुपर्ने, एटीएम धाउनुपर्ने वा खुद्रा पैसाको झन्झट बेहोर्नुपर्ने अवस्थालाई क्यूआर कोड र डिजिटल कारोबारले सहज बनाएका छन् । तर, चाडपर्वको सामाजिक र सांस्कृतिक महत्त्व पैसाको अंकमा मात्र सीमित छैन ।

विराटनगर–१० का स्थानीय व्यवसायी शिवम शर्मा प्रविधिलाई सुविधाका रूपमा लिनुपर्ने भए पनि संस्कृतिलाई यान्त्रिक बनाउन नहुने तर्क गर्छन् ।

‘दसैँ भनेको प्रविधि प्रदर्शन गर्ने थलो होइन, यो त परिवार र आफन्त जोडिने माध्यम हो । निधारमा रातो टीका लगाएर, शिरमा जमरा राख्दै हातमा दक्षिणा दिँदा दुई पुस्ताबीचको आत्मीयता र माया झल्किन्छ,’ शर्मा भन्छन्, ‘क्यूआरबाट दक्षिणा पठाउनु टाढा रहेका आफन्तका लागि ठीक होला । तर, अगाडि नै बसेर टीका लगाउँदा पनि मोबाइल तेर्स्याउनुले सम्बन्धलाई चिसो बनाउँछ। हामीले सुविधा अपनाउने हो, मौलिकता गुमाउने होइन ।’

दसैँमा दक्षिणा दिने चलन कागजी नोटबाट डिजिटल स्क्रिनसम्म पुग्नु समयसँगै आएको स्वाभाविक परिवर्तन हो । प्रविधिले टाढा रहेका आफन्तलाई जोड्न र आर्थिक कारोबारलाई सहज बनाउन मद्दत पुर्‍याएको छ । तर, दसैँको मर्म डिजिटल कारोबारमा मात्र सीमित छैन । मान्यजनको न्यानो साथ, हातको स्पर्श, अक्षताको रातो रङ र आशीर्वादसँग पनि यसको गहिरो सम्बन्ध छ ।

नयाँ लुगा लगाएर मान्यजनबाट आशीर्वाद लिँदा रातो टीका र जमरासँगै हातमा नयाँ नोट पर्दाको खुसीले दसैँको अनुभूति अझ विशेष बनाउँछ । प्रविधि जतिसुकै अघि बढे पनि धेरैका लागि दक्षिणामा पाइने नयाँ नोटको आकर्षण र त्यससँग जोडिएको आत्मीयता अझै उस्तै छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×