उद्योगमैत्री नीति र निर्यात प्रवर्द्धन गर्न विराटनगरका उद्योगीको जोड

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १६:५६

विराटनगर । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति रहबर अन्सारी र उद्योग संगठन मोरङको कार्यसमितिबीच औद्योगिक विकास, लगानी प्रवर्द्धन तथा निर्यात विस्तारका विषयमा छलफल भएको छ ।

छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले नयाँ लगानी आकर्षित गर्न र विद्यमान लगानी विस्तार गर्न उद्योगमैत्री नीतिगत व्यवस्था आवश्यक रहेको बताए । उनले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्न, औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिन तथा उद्योगी व्यवसायीको मनोबल बढाउने वातावरण बनाउन आग्रह गरे ।

समितिका सभापति अन्सारीले उद्योग तथा व्यवसाय क्षेत्रका समस्या, उत्पादन लागत र लगानीको वातावरणसँग सम्बन्धित विषय औद्योगिक विकासका दृष्टिले महत्त्वपूर्ण रहेको बताए । उद्योगी व्यवसायीले प्रस्तुत गरेका सुझाव र समस्याको अध्ययन गरी आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले विभिन्न कारणले बन्द भएका उद्योग पुनः सञ्चालन गर्न सकिने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताए । यस्तो व्यवस्थाले लगानीको वातावरण सुधार गर्नुका साथै उद्यमशीलताको संरक्षणमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

संगठनका पूर्वअध्यक्ष सुयश प्याकुरेलले नेपाली उद्योगको उत्पादन क्षमता विस्तार गर्दै निर्यातमुखी औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले छिमेकी मुलुकका ठूला बजारमा प्रतिस्पर्धा गर्न सक्ने आपूर्तिकर्ताका रूपमा नेपाली उद्योगलाई स्थापित गर्नुपर्ने बताए ।

यस्तै, संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योग स्थापना तथा सञ्चालनका क्रममा देखिने प्रक्रियागत जटिलता न्यूनीकरण गर्नुपर्ने बताए । अर्का उपाध्यक्ष विपिन कावराले औद्योगिक विकासका लागि सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको औँल्याए ।

छलफलमा उद्योगीहरूले बढ्दो उत्पादन लागत, विद्युत् महसुल, औद्योगिक पूर्वाधारको अवस्था, नीतिगत जटिलता र निर्यात प्रवर्द्धनमा देखिएका चुनौतीबारे सभापति अन्सारीको ध्यानाकर्षण गराउँदै नीतिगत सुधारका लागि आग्रह गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×