हल र उडफोर्डलाई अर्थशास्त्रको नोबेल पुरस्कार

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २६, सोमबार १७:००

एजेन्सी। अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रमा हुने उतारचढावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडेलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख गरेको छ । पुरस्कार समितिका अध्यक्ष जोन हस्लरले उनीहरुको अनुसन्धानले ऊर्जा संकट वा घरपरिवारको उपभोगमा आउने आकस्मिक परिवर्तन जस्ता आर्थिक झट्काको सामना गर्न नीति निर्मातालाई थप सक्षम बनाएको बताए ।

सन् १९७० को दशकमा देखिएको तेल संकटका क्रममा मन्दी तथा अन्य आर्थिक उतारचढावको सामना गर्न कहिले र कसरी नीतिगत हस्तक्षेप गर्ने भन्ने निर्धारणमा परम्परागत केन्सियन मोडेल प्रभावकारी हुन नसकेको देखिएको थियो । त्यसपछि हल र उडफोर्डले आर्थिक स्थिरता कायम गर्न प्रभावकारी नीतिगत उपाय पहिचान गर्न सकिने नयाँ विधि तथा उपकरणको विकासमा योगदान पुर्‍याएका थिए ।

एकेडेमीका अनुसार, उनीहरूले मुद्रास्फीति, उत्पादन र उपभोग जस्ता समष्टिगत आर्थिक सूचकबीचको तथ्याङ्कीय सम्बन्धमा मात्र निर्भर नभई सूक्ष्म आर्थिक आधारमा मोडेल निर्माण गर्ने दृष्टिकोण अपनाए । यस दृष्टिकोणले व्यक्तिगत घरपरिवार र व्यवसायले गर्ने निर्णय तथा तिनको समग्र प्रभावले अर्थतन्त्रमा कसरी परिवर्तन ल्याउँछ भन्ने बुझ्न सहयोग पुर्‍याउँछ ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडिश वैज्ञानिक अल्फ्रेड नोबेलको सन् १८९५ को इच्छापत्रमा उल्लेख गरिएका पाँच मूल पुरस्कारमध्ये पर्दैन। नोबेलको सन् १८९६ मा निधन भएको थियो । स्वीडिश केन्द्रीय बैंकको सहयोगमा सन् १९६८ मा स्थापना गरिएको यस पुरस्कारलाई औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक विज्ञानतर्फको स्वेरिजेस रिक्सबैंक पुरस्कार’ भनिन्छ ।

यसको स्थापना नोबेलको मूल इच्छापत्रमा नभएकाले केही आलोचकले यसलाई ‘नक्कली नोबेल’ भन्ने गरेका छन्। यद्यपि, यसको विजेता छनोट रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले नै गर्छ र छनोट प्रक्रिया अन्य नोबेल पुरस्कारको प्रक्रियासँग मिल्दोजुल्दो छ।

गत वर्ष प्रविधिले आर्थिक वृद्धिलाई कसरी अघि बढाउँछ भन्ने विषयमा अनुसन्धान गरेका अमेरिकी–इजरायली अर्थशास्त्री जोएल मोकिर, फ्रान्सेली अर्थशास्त्री फिलिप एगियोन र क्यानडाका पिटर हाउइटलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो।

अन्य नोबेल पुरस्कार सरह अर्थशास्त्रतर्फको पुरस्कारमा पनि प्रमाणपत्र, स्वर्ण पदक र नगद पुरस्कार समावेश हुन्छ। पुरस्कार विजेताले डिसेम्बर १० मा आयोजना हुने औपचारिक समारोहमा पुरस्कार ग्रहण गर्नेछन्। डिसेम्बर १० अल्फ्रेड नोबेलको निधन भएको दिनको वार्षिकी हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×