अनुसन्धानमुखी बन्दै त्रिभुवन विश्वविद्यालय

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २७, मंगलबार ०७:३३

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रशासनिक सेवा डिजिटल बनाउने, परीक्षा प्रणाली सुधार्ने, अनुसन्धानलाई प्रोत्साहन गर्ने र श्रमबजारअनुकूल पाठ्यक्रम विकास गर्ने योजना अघि सारेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई अनुसन्धान, नवप्रवर्तन र ज्ञान उत्पादनमा केन्द्रित बनाउँदै ‘डिजिटल विश्वविद्यालय’का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा प्रस्तुत नीति तथा कार्यक्रममा एकीकृत मोबाइल एप, डिजिटल ड्यासबोर्ड, परीक्षा व्यवस्थापन प्रणाली, अनुसन्धान अनुदान र विद्यार्थी सेवा विस्तारलाई प्राथमिकता दिइएको छ ।

विश्वविद्यालयको रणनीतिक योजना २०२४–२०२८ र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदनअनुसार तयार गरिएको कार्यक्रममा वार्षिक शैक्षिक योजनालाई रणनीतिक लक्ष्यसँग जोड्ने, अनुसन्धानका नतिजा नीतिनिर्माणमा उपयोग गर्ने र विश्वविद्यालयका निकायलाई नतिजामुखी व्यवस्थापन प्रणालीमा आबद्ध गर्ने उल्लेख छ ।

त्रिविले शैक्षिक तथा प्रशासनिक सेवा सहज बनाउन एकीकृत मोबाइल एप र विश्वविद्यालयसम्बन्धी तथ्याङ्क एकै ठाउँमा हेर्न सकिने डिजिटल ड्यासबोर्ड निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्षभित्र आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसको डिजिटल भू–नक्साङ्कन तयार गर्ने तथा विश्वविद्यालयका निकायमा इन्टरनेट र इन्ट्रानेट पूर्वाधार सुदृढ गर्ने योजना पनि छ ।

परीक्षा व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा लागू गरी उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, शैक्षिक अभिलेख व्यवस्थापन र प्रमाणपत्र वितरणलाई डिजिटल माध्यममा लैजाने लक्ष्य राखिएको छ । नीति तथा कार्यक्रमको समीक्षाअनुसार परीक्षा नियन्त्रण कार्यालयमा अनलाइन सेवा विस्तार गरिएको छ भने प्रादेशिक परीक्षा नियन्त्रण कार्यालयबाट अनलाइन भुक्तानी, मार्कसिट र ट्रान्सक्रिप्ट वितरणलाई सहज बनाइएको छ । परीक्षा केन्द्रसम्म प्रश्नपत्र अनलाइन माध्यमबाट पुर्‍याउने प्रणाली सञ्चालनको काम पनि सुरु भएको छ ।

विद्यार्थीका लागि भर्ना, परीक्षा, छात्रवृत्ति, परिचयपत्र र गुनासो व्यवस्थापनलाई एउटै प्रणालीमा समेट्ने योजना छ । मानसिक स्वास्थ्य परामर्श, करिअर विकास, उद्यमशीलता तथा रोजगारी सहजीकरणका सेवा पनि यसमा समावेश गरिनेछ ।

विद्यार्थीलाई व्यावहारिक अनुभव दिलाउन त्रिविका क्याम्पस, अनुसन्धान केन्द्र र प्रशासनिक निकायमा निश्चित अवधिको इन्टर्नसिप उपलब्ध गराउने नीति लिइएको छ । वन विज्ञान अध्ययन संस्थानको अनुभवका आधारमा राष्ट्रिय स्वयंसेवक कार्यक्रम अन्य निकायमा विस्तार गरी वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण र सामुदायिक विकासका काममा विद्यार्थीलाई सहभागी गराइनेछ ।

अनुसन्धानमा अनुदान र पेटेन्टलाई प्रोत्साहन

त्रिविले राष्ट्रिय प्राथमिकता र सामाजिक आवश्यकतासँग जोडिएका अनुसन्धानलाई प्रतिस्पर्धात्मक अनुदान उपलब्ध गराउने भएको छ । अनुसन्धान व्यवस्थापन सुधार, सरकारी अनुदान परिचालन तथा केन्द्रीय विभाग, अनुसन्धान केन्द्र र क्याम्पसका अनुसन्धान पूर्वाधार स्तरोन्नति गर्ने योजना छ ।

बहुविषयगत अध्ययनका लागि साझा अनुसन्धान सुविधा र राष्ट्रिय विज्ञानमा आधारित सन्दर्भ प्रयोगशाला विकास गर्ने नीति पनि कार्यक्रममा समेटिएको छ । साझा सुविधाको प्रयोगबाट महँगा उपकरणको दोहोरो खरिद घटाउने र अनुसन्धानकर्ताबीच सहकार्य बढाउने अपेक्षा गरिएको छ ।

अनुसन्धानबाट प्राप्त प्रविधि र अवधारणालाई व्यावसायिक उपयोगमा लैजान बौद्धिक सम्पत्ति व्यवस्थापन प्रणाली लागू गरिनेछ । प्राध्यापक, युवा अनुसन्धानकर्ता र विद्यार्थीलाई पेटेन्ट, स्टार्टअप तथा नवप्रवर्तनमा प्रोत्साहित गर्नुका साथै उच्चस्तरीय जर्नलमा लेख प्रकाशित गर्ने र पेटेन्ट अधिकार प्राप्त गर्ने अनुसन्धानकर्तालाई आर्थिक प्रोत्साहन तथा पुरस्कार प्रदान गर्ने योजना छ ।

अनुसन्धानलाई उद्योग, समाज र नीतिनिर्माणसँग जोड्न ज्ञान हस्तान्तरण, परामर्श सेवा र सरकार–विश्वविद्यालय सहकार्यलाई विस्तार गरिनेछ । ‘नेटवर्किङ, इनोभेसन, क्रियसन एन्ड एक्सप्लोरेसन’ (एनआइसिइ) मोडलमार्फत प्राध्यापकको व्यावसायिक विकास र विद्यार्थीको व्यावहारिक सीप अभिवृद्धि गर्ने लक्ष्य पनि राखिएको छ ।

श्रमबजारको मागअनुसार पाठ्यक्रम परिमार्जन

त्रिविले उद्यमशीलता, नवप्रवर्तन र प्रविधिलाई पाठ्यक्रममा समेट्दै शिक्षण–सिकाइ प्रक्रियालाई विद्यार्थीकेन्द्रित बनाउने भएको छ । दूरशिक्षा, डिजिटल शैक्षिक सामग्री र मिश्रित सिकाइ प्रणाली विस्तार गर्न लर्निङ म्यानेजमेन्ट सिस्टम विकास गरिनेछ ।

श्रमबजारको मागमा आधारित शैक्षिक कार्यक्रम विस्तार गर्ने तथा रोजगारमूलक विषयका कार्यक्रमलाई गुणस्तर सुनिश्चितता र प्रत्यायन प्राप्त गरी विभिन्न क्षेत्रमा विस्तार गर्ने योजना छ । स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग क्रेडिट ट्रान्सफर र डबल डिग्री कार्यक्रमलाई व्यवस्थित गर्नुका साथै विदेशी विद्यार्थी र अनुसन्धानकर्तालाई आकर्षित गर्न अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रमार्फत सेवा सहज बनाइनेछ ।

त्रिविले अघि सारेका योजनाले विश्वविद्यालयको प्रशासनिक सेवा, परीक्षा व्यवस्थापन, अनुसन्धान र शिक्षण प्रणालीमा सुधार गर्ने लक्ष्य राखेका छन् । तर, तिनको प्रभावकारिता कार्यान्वयन, आवश्यक बजेट र जनशक्तिको उपलब्धता तथा विश्वविद्यालयका निकायबीचको समन्वयमा निर्भर हुनेछ ।

तपाइको प्रतिक्रिया
एसियन गेम्सका पदक विजेताले पाए पुरस्कार
विराटनगरमा फुटपाथमै प्रभु बैंकको स्कार्पियो, पैदलयात्री सडकमा हिँड्न बाध्य
मदनकृष्णको जीवनकथा अब ठूलो पर्दामा
कोशीको नाम परिवर्तनदेखि मुकुमलुङको केवलकार रोक्नेसम्मका माग
देवानगन्जमा ५७ किलो गाँजा बरामद, मोटरसाइकल चालक फरार
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित, उजुरीमाथि अध्ययन गरिने
कांग्रेसमा आदिवासी जनजातितर्फका २० उम्मेदवार निर्वाचित
प्रदेशको समृद्धिका लागि सहकार्यको खाका : एउटाको उत्पादन, अर्काको प्रशोधन र अर्कोबाट निर्यात
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब संकलन
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×