
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै छ । अल अमेरातस्थित ग्राउन्ड–१ मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । उक्त खेलमा नेपाली ब्याटर रोहित पौडेलले शतक प्रहार गरेका थिए । यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई हराएको थियो ।
ओमानको जितसँगै लिग–२ को शीर्ष चारमा रहेर सोझै विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना समाप्त भएको छ। अब नेपालले लिग–२ मा आफ्नो स्थान सुधार गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने लक्ष्यमा ध्यान केन्द्रित गरेको छ ।
लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ। क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौँ स्थानमा झरेको छ। ओमान भने २९ खेलबाट ३३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । शीर्ष चारमा पर्न नसकेपछि नेपालले एकदिवसीय विश्वकप छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ। प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र यूएई सहभागी हुनेछन् ।
लिग–२ को बाँकी खेलपछि नेपालले पाँचौँ वा छैटौँ स्थानमा प्रतियोगिता टुंग्याउन सक्नेछ । ओडीआई मान्यता जोगाउने विषयमा आईसीसीको स्पष्ट प्रावधान सार्वजनिक नभएकाले नेपालको अवस्थाबारे अन्योल छ। यद्यपि, छैटौँ स्थानसम्म रहँदा पनि मान्यता जोगिने अपेक्षा गरिएको छ ।



















