बिहारमा भोज खान जाँदै गरेका बालबालिका चढेको डुंगा गंगामा डुब्यो, १३ जनाको मृत्यु

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार ०७:४१

एजेन्सी । भारतको बिहारमा गंगा नदी पार गरेर भोजमा सहभागी हुन गइरहेका बालबालिका सवार डुंगा पल्टिँदा १३ जनाको मृत्यु भएको छ । वैशाली जिल्लाको राघोपुर क्षेत्रमा मंगलबार राति भएको दुर्घटनामा सात जनाको उद्धार गरिएको छ ।

स्थानीय बासिन्दा भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा दुर्घटनामा परेका हुन् । भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको माता महारानी स्थाननजिक सिंहेश्वर रायको घरमा आयोजना गरिएको भोजमा सहभागी हुन करिब २० जना सानो डुंगामा चढेका थिए ।

डुंगा पल्टिएपछि घटनास्थलमा उद्धार कार्य सुरु गरिएको थियो । रातभर चलेको उद्धारमा राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र स्थानीय गोताखोर परिचालन गरिएको थियो । उद्धारका क्रममा १३ जनाको शव फेला परेको वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहले जानकारी दिएकी छन् ।

उद्धार गरिएका सात जनालाई उपचारका लागि नालन्दा मेडिकल कलेज तथा अस्पताल लगिएको थियो । घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत पठाइएको छ । जिल्ला अधिकारी सिंहका अनुसार डुंगामा सवार सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका थिए ।

दुर्घटनापछि पीडित परिवार र स्थानीय बासिन्दामा शोक छाएको छ । घटनाको अवस्था बुझ्न अस्पताल पुगेकी जिल्ला अधिकारी सिंहविरुद्ध आक्रोशित स्थानीयले नाराबाजीसमेत गरेका थिए ।

घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्यलाई तीव्र बनाउन र घाइतेलाई उचित उपचारको व्यवस्था गर्न प्रशासनलाई निर्देशन दिएका छन् ।

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका प्रत्येक परिवारका निकटतम सदस्यलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । मुख्यमन्त्री चौधरी र प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×