साँझ ढल्दै जाँदा झन् गुल्जार बन्छ धरानको भानुचोक

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार ०९:४२

सुनसरी । चाडपर्व नजिकिएसँगै बिहानैदेखि गाउँ फर्किने यात्रुको भीडले व्यस्त हुने धरानको भानुचोक साँझपख भने फरक रौनकमा देखिन्छ । ठूला सवारीसाधनको चाप घट्दै जाँदा सडकछेउका खाजा पसल र ठेलामा ग्राहकको भीड बढ्छ । चिया गफ, किनमेल र भेटघाटमा रमाउने सर्वसाधारणको चहलपहलले चोकलाई थप गुल्जार बनाउँछ ।

खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र झापालगायतका जिल्लातर्फ जाने–आउने यात्रुको आवतजावतले दिनभर व्यस्त रहने भानुचोक साँझपख स्थानीयको जमघटस्थल पनि बन्छ । सडकछेउका ठेलामा मःम, चाउमिन र अण्डारोल बेच्ने व्यापारीको चहलपहल बढ्छ। खाजा खान आउने र किनमेल गर्नेको भीडले चोकको माहोल थप जीवन्त बनाउँछ ।

धरान–८ की अनिता राई विगत १० वर्षदेखि साँझपख भानुचोकमा ठेलामा मःम, चाउमिन र अण्डारोल बेच्दै आएकी छन् । दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्ने उनी साँझ ५ बजे ठेला लिएर भानुचोक पुग्छिन् र राति ९:३० बजेसम्म व्यापार गर्छिन्। उनलाई छोरीले पनि सघाउँदै आएकी छन् ।

‘दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्छु। साँझ ५ बजे भानुचोक आएर ९:३० बजेसम्म व्यापार गर्छु। छोरीले पनि सहयोग गर्छिन्,’ राईले भनिन् । पहिले प्रतिप्लेट ३५–४० रुपैयाँमा बेच्ने गरेको मःम र चाउमिनको मूल्य अहिले ७० रुपैयाँ पुगेको उनले बताइन् । यही व्यवसायबाट छोराछोरीको पढाइ र घरखर्च धान्न सहज भएको उनको भनाइ छ ।

राईजस्तै धरान–१५ की निरा मगर पनि विगत नौ वर्षदेखि साँझपख भानुचोकमा मःम, चाउमिन र अण्डारोल बेच्दै आएकी छन् । खाजाको व्यापार सुरु गर्नुअघि उनले चार वर्षसम्म मकै पोलेर र आलु चप बेचेर बिताइन् । त्यसबाट सोचेअनुसार आम्दानी नभएपछि खाजाको व्यापार थालेको उनले बताइन् ।

\महिला भएर साँझपख ठेला लिएर सडकमा निस्कँदा सुरुमा डर लाग्थ्यो, अप्ठ्यारो पनि हुन्थ्यो। अहिले बानी परिसक्यो। चाडपर्व सुरु भएकाले व्यापार पनि राम्रो भइरहेको छ,’ मगरले भनिन् । दिनभर घरमै खाजाका सामग्री तयार पारेर साँझ ६ बजेतिर भानुचोक पुग्ने उनी राति १० बजेसम्म व्यापार गर्छिन् । चाडपर्वका बेला ग्राहकको चहलपहल बढ्दा व्यापार राम्रो हुने गरेको उनको भनाइ छ ।

साँझपख भानुचोकका सडकछेउमा रहेका साना चिया पसल र ठेलामा खाजा खाने, कुर्सीमा बसेर चिया गफ गर्ने तथा किनमेल गर्ने सर्वसाधारणको भीड देखिन्छ । दिनभरको गर्मी, धूलो, कोलाहल र हतारबाट थाकेका मानिसका लागि चोक भेटघाट र साथीभाइसँग गफिने ठाउँ बनेको छ ।

चोकमा युवाको जमघट पनि बढ्छ । कोही मोबाइलबाट भिडियो खिचिरहेका हुन्छन्, कोही फोटो खिच्दै रमाइरहेका हुन्छन् भने कोही गीत गाएर मनोरञ्जन गरिरहेका देखिन्छन् । झिलीमिली बत्तीले उज्यालिएको चोकको दृश्य साँझपख थप आकर्षक देखिन्छ ।

चहलपहलसँगै ट्राफिक व्यवस्थापनको चुनौती

साँझपख ठेला व्यापारी र ग्राहकको चहलपहल बढेसँगै भानुचोकमा ट्राफिक व्यवस्थापनको चुनौती पनि थपिन्छ । ठूला सवारीसाधनको चाप घटे पनि मोटरसाइकल, ट्याम्पो र सफारीको आवतजावत तथा जथाभावी पार्किङका कारण सडक साँघुरिने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङ लिम्बूले चाडपर्व नजिकिएसँगै यात्रुको भीड बढ्ने भएकाले भानुचोकलाई प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन गरिरहेको बताए । ‘चाडपर्व सुरु भएकाले बिहानैदेखि अत्यधिक भीडभाड हुने भानुचोकलाई विशेष प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने ।

गाउँ फर्किने सर्वसाधारणको सुरक्षाका लागि यात्रुले टिकट पाए–नपाएको र सवारीसाधनको व्यवस्थापनको अवस्थाबारे सोधपुछ तथा जाँच गर्ने गरिएको उनले जानकारी दिए । ट्राफिक व्यवस्थापन सहज बनाउन वडा कार्यालय र नगरपालिकासँग समन्वय गरेर काम भइरहेको उनको भनाइ छ ।

इतिहास बोकेको चोक, बदलिँदो स्वरूप

धरान उपमहानगरपालिका–२ मा रहेको भानुचोक व्यापारिक चहलपहलको केन्द्र मात्र होइन, ऐतिहासिक महत्त्व बोकेको स्थान पनि हो । चोकमा आदिकवि भानुभक्त आचार्यको सालिक राखिएपछि यस स्थानको नाम भानुचोक रहन गएको स्थानीय बिर्खलाल तामाङ बताउँछन् ।

उनका अनुसार जनआन्दोलनका बेला नाराबाजी, र्‍याली तथा राजनीतिक र साहित्यिक गतिविधिका लागि भानुचोक प्रमुख स्थलका रूपमा प्रयोग हुन्थ्यो । केही दशकअघिसम्म चोक आसपास टिनले बेरेका साना घर र चिया पसल मात्रै थिए । चिया पिउँदै राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्ने चलन थियो । ‘त्यतिबेला अहिले जस्तो ठेलामा खाजा बेच्ने प्रचलन नै थिएन,’ तामाङले सम्झिए ।

समयक्रमसँगै भानुचोकको स्वरूप पनि फेरिँदै गयो । धरानमा लामो समयदेखि पत्रपत्रिका बिक्री गर्दै आएका ७५ वर्षीय कृष्णभक्त श्रेष्ठका अनुसार पहिलेको तुलनामा अहिले चोकमा ठूला भवन बनेका छन् भने मानिस र सवारीसाधनको चाप पनि उल्लेख्य बढेको छ ।

विसं २०४५ को भूकम्पपछि हङकङ र मकाउमा रहेका नेपालीको पहलमा ५६ लाख रुपैयाँको लागतमा भानुचोकको छेउमा घण्टाघर निर्माण सुरु भएको थियो । विसं २०४८ मा निर्माण सम्पन्न भएको घण्टाघरले यस क्षेत्रको पहिचान स्थापित गर्न थप सहयोग पुर्‍याएको श्रेष्ठले बताए । घण्टाघर बनेपछि वरपर व्यापारिक गतिविधि बढ्दै गएको र सहरको चहलपहल पनि यही क्षेत्रमा केन्द्रित हुन थालेको उनको भनाइ छ ।

दैनिक हजारौँ मानिसको आवतजावत हुने भानुचोक धरानका विभिन्न स्थान तथा बाहिरी जिल्लातर्फ जाने सवारीसाधनको प्रमुख केन्द्र हो । ‘पहिले पत्रिका बेच्न धरानको छाताचोकतिर जानुपर्थ्यो, अहिले बिहानदेखि साँझसम्म भानुचोकमै ग्राहक भेटिन्छन्। पहिलेको तुलनामा अहिले यहाँ मानिसको चाप र चहलपहल निकै बढेको छ,’ श्रेष्ठले भने ।

साँझपख ठेला तथा साना व्यवसायमा हुने चहलपहलले स्थानीय आर्थिक गतिविधि बढाउन र साना व्यवसायीको जीविकोपार्जनमा सहयोग पुर्‍याएको सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष किसन मास्केले बताए । भानुचोकको दिनचर्या बिहान यात्रुको भीडबाट सुरु हुन्छ र साँझ स्थानीयको जमघट, खाजा पसल र साना व्यापारको चहलपहलसँगै अर्को रूप लिन्छ । यात्राको केन्द्रका रूपमा परिचित यो चोक साँझ ढल्दै जाँदा धरानको सामाजिक र आर्थिक जीवनको साझा थलो पनि बन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×